अत्तरिया, कैलालीको गोदावरी नगरपालिका वडा नं. १ र ६ मा रहेको बडेहा बिजौरा खानेपानी उपभोक्ता तथा सरसफाइ संस्थामा देखिएको प्राविधिक समस्याका कारण केही उपभोक्ताहरूको घरमा जडान गरिएको मिटरको बिल शुल्क अपेक्षाभन्दा बढी आएपछि उपभोक्ताहरूमा व्यापक निराशा छाएको छ। उपभोक्ताहरूले स्वच्छ र शुद्ध खानेपानीको आशमा घरघरमा धारा जडान गरेका थिए। तर, प्राविधिक त्रुटि र पलम्बरहरूको लापरवाहीका कारण अहिले उनीहरू मर्कामा परेका छन्।
स्थानीय खानेपानी उपभोक्ता समितिका एक सदस्यका अनुसार, पानीको मिटरले वास्तविक उपभोगभन्दा बढी बिल देखाइरहेको गुनासो व्यापक छ। यस सम्बन्धमा समितिका अध्यक्ष चेतराज पन्तले समस्याको पुष्टि गर्दै प्राविधिक त्रुटि र पलम्बरको कमजोरी मुख्य कारण भएको स्पष्ट पार्नुभयो। साथै, उपभोक्ताहरूले पनि यस्ता समस्यामा चाँडै सूचना दिनु आवश्यक रहेको उहाँको भनाइ छ।
“प्राविधिक समस्याहरू बेलाबेलामा आइरहन्छन्, तर त्यसको समाधान उपभोक्ताको सक्रिय सहभागितासँगै मात्र सम्भव छ,” अध्यक्ष पन्तले भन्नुभयो। उहाँले कार्यालयमा समस्या जानकारी गराई समाधानको बाटोमा अगाडि बढ्न आग्रह गर्दै आगामी केही दिनभित्र धाराको मर्मत, अनुगमन र आवश्यक समाधान गर्ने कार्य प्रारम्भ गरिने जनाउनुभयो।
गत वर्षहरूमा पनि यस्ता समस्या आइरहेका भए पनि अहिलेको समस्याले पुनः आम उपभोक्ताको ध्यान तानेको छ। यसलाई लिएर समिति गम्भीर रूपमा लागिपरेको र घरघरमै पुगेर समस्याको समाधान गर्ने लक्ष्य लिएको बताइएको छ।
“जनताहरूको चाहना हो ।, स्वच्छ, शुद्ध खानेपानी उपभोग गर्ने। त्यसलाई आत्मसात गर्दै हामी नमुना खानेपानी व्यवस्थापनको बाटोमा अघि बढिरहेका छौं,” अध्यक्ष पन्तले भन्नुभयो।
खानेपानी सेवामा सुधार ल्याउन सबै उपभोक्ता, सचेत नागरिक र सरोकारवालाहरूको हातेमालो आवश्यक रहेको समितिको जोड छ। उहाँले केही व्यक्तिका कारण खानेपानी सेवाको बदनाम नहोस् भनेर सबैलाई सकारात्मक भूमिकामा उत्रन आग्रह गर्दै समस्याको समाधानमा सबैले साथ दिन अपिल गर्नुभयो।