सुदूरपश्चिमका सांसदहरूका लागि ३१ लाख ८२ हजार खर्चेर ल्यापटप खरिद हुँदै

धनगढी, सुदूरपश्चिम प्रदेशसभा सचिवालयले प्रदेशसभा सदस्यहरूका लागि नयाँ ल्यापटप खरिद प्रक्रिया अघि बढाएको छ। सचिवालयले ४३ जना सांसदका लागि झन्डै ३१ लाख ८२ हजार रुपियाँ खर्च गरेर नयाँ ल्यापटप वितरण गर्न लागेको हो। ल्यापटप खरिदका लागि बोलपत्र प्रक्रियाबाट छनोट गरिएको धनगढीकै उग्रतारा ट्रेडिङ एण्ड सप्लायर्स कम्पनीले कुल ३१ लाख ८२ हजार ६४५ रुपियाँमा ल्यापटप उपलब्ध गराउने जिम्मा पाएको छ।

प्रदेशसभा सदस्यहरूको कामलाई प्रविधिमैत्री बनाउन र कामकारबाहीमा सहजता ल्याउने उद्देश्यसहित सचिवालयले प्रत्येक सदस्यलाई लेनेभो ब्रान्डका आई–५ प्रोसेसरयुक्त ल्यापटप उपलब्ध गराउने तयारी गरेको हो। सचिवालयका अनुसार, ल्यापटप खरिदका लागि माघ १५ गते बोलपत्र आह्वान गरिएको थियो। आठवटा कम्पनीले बोलपत्र पेश गरेका थिए, जसमा सबैभन्दा कम अङ्क कबोल गर्ने कम्पनीको छनोट गरिएको हो।

सुदूरपश्चिम प्रदेशसभामा हाल ५३ जना सांसद छन्। तीमध्ये १० जना सरकारको पक्षमा रहेका मुख्यमन्त्री, मन्त्री तथा राज्यमन्त्री पदमा रहेकाले बाँकी ४३ जनाका लागि मात्रै ल्यापटप खरिद गरिने सचिवालयका सूचना अधिकारी युवराज जैसीले जानकारी दिए। उनका अनुसार, प्रक्रिया सम्पन्न भइसकेको र छिट्टै ल्यापटप वितरण गरिने तयारी भइरहेको छ।

यसअघि अघिल्लो कार्यकालमा पनि प्रदेशसभा सदस्यहरूलाई ल्यापटप उपलब्ध गराइएको थियो। त्यतिबेला सचिवालयले लेनेभोको आई–३ प्रोसेसर भएको ४६ थान ल्यापटप खरिद गरेर सांसदहरूलाई दिएको थियो। तर ती ल्यापटप हाल पुराना भइसकेका छन् र धेरैजसो बिग्रिएका कारण प्रयोगमा नरहेको बताइएको छ।

सूचना अधिकारी जैसीका अनुसार, केही ल्यापटपको डिसप्ले नचल्ने भएका छन् भने केही पूर्ण रूपमा नचल्ने अवस्थामा छन्। चल्ने ल्यापटपहरू पनि निकै ढिलो सञ्चालन हुने जनाइएको छ। यस्तै, अघिल्लो कार्यकाल सकिएपछि धेरै सांसदले ल्यापटप फिर्ता गरे पनि १२ जना सांसदले भने अझै ल्यापटप फिर्ता नगरेको पनि उनले जानकारी दिए।

नयाँ ल्यापटप वितरणसँगै सांसदहरूको प्रविधिमा पहुँच बढ्ने र कामकारबाहीमा गति आउने अपेक्षा गरिएको छ।

 

ताजा समाचार