अत्तरिया,गोदावरी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत हरिदत्त भट्टको बेतकोट नगरपालिकामा सरुवा हुनुले नगरपालिकाको प्रशासनिक तहमा फेरि एकपटक अस्थिरता देखिएको छ। सामान्य प्रशासन मन्त्रालयले उनलाई बेतकोट नगरपालिकामा पदस्थापन गरेको जानकारी प्राप्त भएको छ।
गत असोज ८ गते मात्र गोदावरी नगरपालिकामा कार्यभार सम्हालेका भट्टको कार्यकाल अपेक्षाकृत छोटो रह्यो। सरुवाको पछाडि औपचारिक रुपमा कुनै कारण नखुलाइए पनि, आन्तरिक असमझदारी, कार्यशैलीको अन्तर र आपसी समन्वयको अभाव मुख्य कारण रहेको बुझिएको छ। नगरपालिकाका एक सिनियर कर्मचारीका अनुसार प्रमुख प्रशासकीय अधिकृत भट्ट र मेयर विरेन्द्र भट्टबीच कार्यशैलीको मेल नमिल्दा समन्वयमा कठिनाइ आइरहेको थियो। उनले भने, “मेयर साप र उनको बीचमा खासै सम्बन्ध जम्न सकेन। जसको कारण पटकपटक कार्य सम्पादनमा समस्या आएको थियो। त्यसैले सरुवा भएको होला।”
यही असमझदारीको प्रत्यक्ष असर नगरपालिकाको प्रशासनिक कामकाजमा पनि देखिन थालिएको थियो। पछिल्ला दिनहरूमा भट्टसँग नगरपालिकाका अन्य कर्मचारीहरू पनि सन्तुष्ट नभएको बताइन्छ। आन्तरिक कार्य सम्पादन मूल्याङ्कनमा अधिकांश कर्मचारीलाई न्यून मूल्याङ्कन दिएपछि धेरै कर्मचारीहरू उनीप्रति रुष्ट बनेको एक कर्मचारीले बताए।
प्रमुख प्रशासकीय अधिकृतको भूमिका कार्यान्वयन, समन्वय र नीति कार्यान्वयनमा अत्यन्त महत्त्वपूर्ण हुन्छ। यस्तो अवस्थामा कार्यकाल छोटो हुनु र स्थायित्व नहुनु स्वाभाविक रूपमा स्थानीय तहको सेवा प्रवाहमा असर पार्ने देखिन्छ।
गोदावरी नगरपालिकामा यसअघि पनि प्रमुख प्रशासकीय अधिकृतहरूको सरुवा नियमितजस्तै हुँदै आएको छ। हरेक केही महिनामा नेतृत्व परिवर्तन हुँदा विकासका योजना र नीति निरन्तरता नपाउने, कर्मचारी मनोबल घट्ने र आम नागरिकको सेवामा असर पर्ने अवस्था दोहोरिरहेकै छ। यस्तो अस्थिरतालाई सम्बोधन गर्न स्थानीय राजनीतिक नेतृत्व र प्रशासनबीच स्पष्ट समन्वय आवश्यक देखिन्छ। नत्र, विकासको गति ठप्प हुने खतरा बढ्दै जानेछ।