अत्तरिया,कैलालीको गोदावरी नगरपालिका–३ स्थित मालाखेती अस्पतालमा आपत्कालीन सेवा सुरु भए तापनि आवश्यक इन्डोर सेवा तथा बेड भर्ना प्रणाली नहुँदा स्थानीयवासीहरू बञ्चित भएका छन्। गोदावरी नगरपालिकाकाे स्वास्थ्य शाखाले आधारभूत स्वास्थ्य सेवा सुदृढ बनाउने लक्ष्यसहित आपत्कालीन (इमर्जेन्सी) सेवा २०७६/७७ वर्षदेखि सञ्चालनमा ल्याएको थियो। यद्यपि, त्यसपछि आवश्यक पर्ने इन्डोर सेवा तथा बिरामी भर्ना व्यवस्थाको अभावले सेवाग्राहीहरूलाई थप समस्या सिर्जना गरिरहेको छ।
गोदावरी क्षेत्रका सामान्य र नर्मल अवस्थाका बिरामीहरू पनि इन्डोर सुविधाको अभावका कारण अस्पताल छाडेर धनगढी वा निजी अस्पताल धाउनुपर्ने बाध्यता बनिरहेको छ। नगरपालिकाले सबै पूर्वाधार भएको भए पनि जनशक्ति व्यवस्थापनको अभावले गर्दा सेवा सुरु हुन नसकेको स्थानियहरूको गुनासो छ।
गोदावरी नगरपालिका वडा नम्बर ३ का अध्यक्ष तेजराज अवस्थीका अनुसार अस्पतालमा आवश्यक पूर्वाधार तथा संरचना तयार भए पनि जनशक्ति नहुँदा सेवा अवरुद्ध रहेको छ। “यो विषयमा नगरपालिका र स्वास्थ्य शाखासँग गम्भीर छलफल भइरहेकाे छ।,” उनले बताए, “हामी कर्मचारी अभाव भएका शाखाहरूमा जनशक्ति व्यवस्थापन गर्नेछौं र यो सेवा शीघ्र सुरु गर्ने प्रयासमा छौं।”
स्थानीय स्तरमा इन्डोर सेवा नहुँदा साना–ठूला सबै बिरामीले टाढाका अस्पताल धाउनु पर्ने बाध्यता, समय र आर्थिक भारका कारण आम नागरिक असन्तुष्ट छन्। अस्पताल केवल स्वास्थ्य सेवा प्रदान गर्ने संस्था नभई नगर विकासको मेरुदण्ड पनि हो भन्ने बुझाइ स्थानीयमा गहिरिंदो छ।
नगरस्तरीय मालाखेती अस्पतालमा पूर्वाधार र संरचना तयार हुँदाहुँदै पनि पूर्ण सेवा नहुनु नगरप्रशासनको गम्भीर कमजोरीको रूपमा हेरिएको छ। अस्पतालको सुदृढीकरण र जनशक्ति व्यवस्थापन गरेर इन्डोर सेवा तत्काल सुरु नगरे नगरवासीहरूमा बढ्दो असन्तुष्टि अझ चर्किने देखिन्छ।