ब्ल्याक सी युद्धविराममा ऐतिहासिक सहमति: साउदी अरबको मध्यस्थता, अमेरिका र रूस-युक्रेनको सहभागिता

रियाद, साउदी अरबको राजधानी रियादमा भएको तीन दिने गहन वार्तापछि रुस र युक्रेनले ब्ल्याक सी क्षेत्रमा युद्धविराम गर्न सहमति जनाएका छन्। सन् २०२२ फेब्रुअरीदेखि जारी भीषण युद्धको १६ महिनापछि प्राप्त यस सहमतिलाई अहिलेसम्मकै सबैभन्दा ठूलो राजनयिक सफलता मानिएको छ। अमेरिकी प्रतिनिधिमण्डलको उपस्थितिमा सम्पन्न भएको वार्तामा युद्धविरामका अतिरिक्त ऊर्जा संरचना र खाद्यान्न निर्यातसम्बन्धी महत्त्वपूर्ण सहमति भएको छ।

सम्झौता अनुसार, दुबै पक्षले ब्ल्याक सी क्षेत्रमा कुनै पनि प्रकारको सैन्य आक्रमण नगर्ने तथा ऊर्जा पूर्वाधारमाथि हमला नगर्ने प्रतिवद्धता जनाएका छन्। साथै, युक्रेनबाट खाद्यान्न निर्यातका लागि रणनीतिक महत्वको ‘ब्ल्याक सी ग्रेन डिल’ पुनः लागू गर्ने रूसले स्पष्ट प्रतिवद्धता जनाएको छ। यो सम्झौताले वैश्विक खाद्य सुरक्षामा सकारात्मक प्रभाव पार्ने अपेक्षा गरिएको छ।

युद्धविरामको कार्यान्वयन सुनिश्चित गर्न अन्तर्राष्ट्रिय निगरानी तन्त्र गठन गरिनेछ, जसमा संयुक्त राष्ट्रसंघ, युरोपेली संघ, अमेरिका, टर्की लगायतका देशहरूले सहभागीता जनाउने जनाइएको छ।

युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले यस सहमतिलाई “सही दिशामा पहिलो कदम” भन्दै स्वागत गरे तापनि सतर्कता आवश्यक रहेको उल्लेख गरे। उनले भने, “शान्तिका लागि यो अवसर हो, तर हामी हाम्रा हितहरूको रक्षा गर्न सजग रहनेछौं।”

त्यस्तै, रुसी प्रतिनिधिमण्डलले सहमतिमा सामेल हुँदा “रुसमाथिका अन्तर्राष्ट्रिय प्रतिबन्ध हटाइनुपर्छ” भन्ने माग समेत राखेको पुष्टि भएको छ। यसै सन्दर्भमा अमेरिकासहित पश्चिमी देशहरूसँग अझ विस्तृत छलफल भइरहेको बताइएको छ।

अन्तर्राष्ट्रिय विश्लेषकहरूका अनुसार साउदी अरबको मध्यस्थतामा भएको यो पहल उक्त देशको बढ्दो कूटनीतिक प्रभावको संकेत हो। हालसम्म मध्यपूर्वमा सीमित भूमिका निर्वाह गर्दै आएको साउदी अरबले रूस-युक्रेनजस्तो अन्तर्राष्ट्रिय द्वन्द्वमा ऐतिहासिक भूमिका खेल्न सफल भएको छ।

युद्धविरामको कार्यान्वयन, प्रतिबन्धसम्बन्धी संवाद तथा भविष्यका दीर्घकालीन समाधानहरूमा अझै चर्चा बाँकी रहेको बताइए पनि यो सहमति वैश्विक स्तरमा एक सकारात्मक संकेतको रूपमा हेरिएको छ।

 

ताजा समाचार