अत्तरिया, नेकपा एमालेको केन्द्रिय सर्कुलर अनुसार सञ्चालन भइरहेको तीन महिने वडा केन्द्रित “पार्टी निर्माण (जरा) अभियान” अन्तर्गत गोदावरी नगरपालिका वडा नं. ४ हाटखोलि–बन्दगडा टोलमा गोरख बहादुर साउँदको अध्यक्षतामा १३ सदस्यीय टोल कमिटी गठन गरिएको छ।
समुदायस्तरमा संगठनलाई सशक्त बनाउने उद्देश्यसहित गठित उक्त टोल कमिटीले स्थानीय स्तरमा विद्यमान समस्या, जनअपेक्षा तथा विकासका सम्भावनाहरूलाई संकलन गर्दै पार्टी समक्ष पुर्याउने लक्ष्य लिएको छ। गठन समारोहमा नेकपा एमालेका प्रदेश कमिटी सदस्य तथा गोदावरी इन्चार्ज खम्बु बुढा, जिल्ला अध्यक्ष यज्ञ ढुङ्गाना, जिल्ला कमिटी सदस्यहरू, तथा नगर कमिटीका पदाधिकारीहरूको सहभागिता रहेको थियो।
जिल्ला अध्यक्ष ढुङ्गानाले पार्टी अभियानको उद्देश्यबारे धारणा राख्दै स्थानीय जनताको भावना, विश्वास र आशालाई सम्बोधन गर्दै संगठनलाई अझ जनमुखी बनाउने आवश्यकता औंल्याए। उनले भने, “यो क्षेत्र पर्यटकीय सम्भावना बोकेको भू–भाग हो, साथै दुर्गम बस्तीसँग जोडिएकोले यहाँको समस्या समाधानमा छलफल आवश्यक रहेको बताउनुभयो ।”
उनका अनुसार, आगामी रणनीति तय गर्ने, तीन महिनाभित्रै जनभावना संकलन गर्दै पार्टीको क्रियाकलाप र प्रभावलाई गहिराइमा विश्लेषण गर्नुपर्ने आवश्यकता छ। पार्टीले के गर्न सक्छ, कहाँबाट थालनी गर्न सकिन्छ भन्ने सवालमा समेत टोल कमिटीमार्फत गम्भीर समीक्षा गरिने बताउनु भयाे।
कार्यक्रममा गोदावरी इन्चार्ज खम्बु बुढाले पार्टी चौतर्फी घेराबन्दीमा परेको अवस्थालाई उल्लेख गर्दै सबै कमरेडहरू एकताबद्ध भई संगठनलाई बलियो बनाउनुपर्नेमा जोड दिए। उनले टोलस्तरीय कमिटीहरूलाई सबल र प्रभावकारी बनाउँदै जनसंपर्क, जनविश्वास र नेतृत्व क्षमतामा आधारित संगठन निर्माण अपरिहार्य रहेको धारणा राखेका थिए।
यस अभियानमार्फत पार्टीले तल्लो तहदेखि नै संगठन सुदृढ गर्दै आगामी निर्वाचन तथा राजनीतिक रणनीतिहरूमा मजबुत उपस्थिति जनाउने अपेक्षा गरिएको छ।