अत्तरिया, नेकपा एमालेका केन्द्रीय महासचिव शंकर पोखरेलले तथ्य र सत्यको विश्लेषण नगरी भ्रमको पछि लाग्नु लोकतन्त्रका लागि घातक हुने बताएका छन्। आइतबार विराटनगरमा आयोजित प्रेस चौतारी नेपालको १० औँ केन्द्रीय महाधिवेशनको उद्घाटन सत्रलाई सम्बोधन गर्दै उनले लोकतन्त्रबारे फैलाइएका भ्रम र गलत धारणाप्रति सचेत रहन सबैमा आग्रह गरे।
महासचिव पोखरेलले देशले विगतमा भोगेको अवस्थाको मूल्यांकन नगरी लोकतन्त्र आएपछि केही पनि नभएको भन्नु गम्भीर भ्रम भएको बताए। “हिजो देश कहाँ थियो र आज कहाँ छ भन्ने कुराको गहिरो विश्लेषण आवश्यक छ,” उनले भने, “सत्यको खोजी बिना लोकतन्त्रले केही दिएन भन्नु गलत धारणा हो।”
उनले वर्तमान सरकार मात्र सरकार सञ्चालनका लागि नभएर लोकतान्त्रिक प्रणालीमाथिको चुनौतीलाई सम्बोधन गर्न गठित भएको पनि स्पष्ट पारे। “देश संकटमा पर्दा कांग्रेस र एमाले मिल्ने परम्परा छ, अहिले पनि त्यही अनुसार दुई दल एकै ठाउँमा आएका हुन्,” पोखरेलले बताए।
पूर्वमाओवादी आन्दोलनबारे धारणा राख्दै पोखरेलले माओवादी सशस्त्र द्वन्द्वको निशाना राजा नभई कांग्रेस र एमाले रहेको दाबी गरे। उनले माओवादीलाई सशस्त्र द्वन्द्वका बेला संरक्षण गर्ने तत्वहरू को-को थिए भन्ने तथ्य अब प्रमाणित हुँदै गएको उल्लेख गरे। “राजावादी र केही भारतीय समूहहरूले माओवादीलाई हामीले सहयोग गर्यौं भनेर खुलेर भन्न थालेका छन्,” पोखरेलले भने।
उनले राजावादीहरूले अहिलेको लोकतान्त्रिक प्रणालीबारे भ्रम फिँजाइरहेको आरोप लगाए। “राजाको पालाको विकास र अहिलेको लोकतान्त्रिक व्यवस्थामा भएका उपलब्धिहरूको तुलनात्मक विश्लेषण गरेर मात्रै निष्कर्षमा पुग्नुपर्छ,” पोखरेलले भने।
पोखरेलले सामाजिक सञ्जालमार्फत समाजमा अराजकता फैलाउने प्रवृत्तिप्रति चिन्ता व्यक्त गर्दै त्यसले लोकतन्त्रमै खतरा उत्पन्न गराउने बताए। उनले प्रेस स्वतन्त्रता आवश्यक भए पनि सामाजिक अराजकतामा सीमांकन आवश्यक भएको धारणा राखे। “समाजलाई निरन्तर अस्थिरता तर्फ लैजाने हो भने यो देशले समृद्धिको यात्रा गर्न सक्दैन,” पोखरेलको भनाइ थियो।
राजतन्त्र पुनःस्थापित गर्न सकिने दाबीप्रति प्रतिक्रिया दिँदै पोखरेलले नेपालमा अब राजतन्त्र फर्किन असम्भव रहेको बताए। उनले राजावादी शक्तिहरूको संगठित प्रयास पनि गणतन्त्र उल्टाउन नसक्ने दाबी गरे।
संविधान संशोधनको विषयमा पोखरेलले दुई प्रमुख दलहरू आवश्यक वातावरण निर्माण गर्दै अगाडि बढिरहेको जानकारी दिए। “संविधान संशोधन गरेर स्थायित्व ल्याउने दिशामा हामी अघि बढिरहेका छौं,” उनले स्पष्ट गरे।
सञ्चार क्षेत्रको भूमिका उल्लेख गर्दै पोखरेलले पत्रकारिता सत्य र तथ्यमा आधारित हुनुपर्नेमा जोड दिए। सञ्चार क्षेत्र अब विकास र समृद्धिको एजेन्डामा केन्द्रित हुनुपर्ने उनको धारणा थियो। “हावाको भरमा चल्ने पत्रकारिता अब स्वीकार्य हुँदैन, सञ्चार क्षेत्रको मिसन पनि बदलिनुपर्छ,” पोखरेलले भने।
मंगलबारसम्म चल्ने प्रेस चौतारी नेपालको महाधिवेशनले नयाँ नेतृत्व चयन गर्नेछ। महाधिवेशनमा देशभरबाट करिब १ हजार पत्रकारहरूको सहभागिता रहेको छ।