अत्तरिया, कैलालीको गेटा अस्पतालको निर्देशकमा डा. प्रमोद कुमार यादव नियुक्त भएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले वरिष्ठ कन्सल्टेन्ट डा. यादवलाई अस्पतालको निर्देशक पदमा नियुक्त गरेको हो।
केही समयदेखि रिक्त रहेको निर्देशक पदमा मन्त्रालयको सचिवस्तरीय निर्णयअनुसार उनलाई जिम्मेवारी प्रदान गरिएको हो। यसअघि ट्रमा सेन्टरको निर्देशक रहेका डा. यादव चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान, वीर अस्पतालमा १०औं तहमा कार्यरत थिए।
डा. यादवले यसअघि जनकपुर प्रादेशिक अस्पतालमा समेत निर्देशकको रूपमा काम गरिसकेका छन्। लामो प्रशासनिक तथा चिकित्सकीय अनुभव भएका कारण उनलाई गेटा अस्पतालको नेतृत्वमा ल्याइएको मन्त्रालय स्रोतले जनाएको छ।
गेटा अस्पताल सुदूरपश्चिम प्रदेशको प्रमुख सरकारी अस्पताल हो। पछिल्लो समय सेवा विस्तार तथा व्यवस्थापन सुधारका प्रयास भइरहेका बेला नयाँ निर्देशकको नियुक्तिले अस्पताल सञ्चालनमा थप गति ल्याउने अपेक्षा गरिएको छ।