अत्तरिया, डडेल्धुराकाे परशुराम नगरपालिका-३, सिमल्टामा रहेको श्री जनज्योति प्राथमिक विद्यालयले होली पर्वको अवसरमा संकलित १ लाख ८० हजार रुपैयाँलाई अक्षयकोषका रूपमा स्थापना गर्ने निर्णय गरेको छ।
विद्यालयका प्रधानाध्यापक हिक्मत बहादुर धामीका अनुसार सो अक्षयकोषबाट विद्यालयमा अध्ययनरत गरिब, विपन्न, जेहेन्दार तथा लगनशील विद्यार्थीहरूलाई छात्रवृत्ति प्रदान गरिनेछ। विद्यालयले चार दिनसम्म होली कार्यक्रम आयोजना गरी देश तथा विदेशबाट चन्दा संकलन गरेको थियो।
अक्षयकोषमार्फत आर्थिक अभावका कारण शैक्षिक सामग्री (कापी, कलम, पोसाक) किन्न नसक्ने विद्यार्थीहरूलाई सहयोग गरिने विद्यालयले जनाएको छ। हाल विद्यालयमा ४३ जना विद्यार्थी अध्ययनरत छन्।
विद्यालयले चालू शैक्षिक सत्रमा अतिरिक्त क्रियाकलाप अन्तर्गत ‘बुक फ्री फ्राइडे’ कार्यक्रम सञ्चालन गरेको थियो। यस कार्यक्रमअन्तर्गत विद्यार्थीहरूलाई करेसाबारी निर्माण, गोडमेल, भान्साका परिकार पकाउने, दुना-टपरी निर्माण जस्ता व्यवहारिक सीप सिकाइएको थियो।
प्रधानाध्यापक धामीका अनुसार विद्यालयले आगामी शैक्षिक सत्रमा पनि यस्ता कार्यक्रमलाई निरन्तरता दिने तथा विद्यार्थीहरूको शैक्षिक र व्यवहारिक विकासका लागि स्थानीय तह, समाजसेवी तथा सम्बन्धित निकायसँग सहकार्य गर्ने योजना बनाएको छ।