अत्तरिया, कैलालीकाे गोदावरी नगरपालिका-१ अत्तरियामा रहेको संघीय कृषि उपज थोक बजार व्यवस्थापन समितिको नयाँ कार्यसमितिको अध्यक्षमा डिल्लीराज जोशी चयन भएका छन्। जोशी यसअघि समितिको सदस्य थिए।
समितिको अन्य पदाधिकारीहरूमा जयराज पनेरु, तेजराज पनेरु, पदमराज रिजाल, एनिला चौधरी र धर्मराज कडेल चयन भएका छन्। संघीय कृषि उपज थोक बजार व्यवस्थापन समितिमा तीनजना कृषक तथा तीनजना व्यवसायी समावेश गर्ने कानुनी व्यवस्था रहेको छ। सोही प्रावधानअनुसार सर्वसम्मत कार्यसमिति चयन गरिएको हो।
नवनिर्वाचित अध्यक्ष जोशीले कृषि उपजको प्रभावकारी व्यवस्थापन र बजारको संरचनात्मक सुधारमा ध्यान दिने प्रतिबद्धता व्यक्त गरेका छन्। उनले किसानको उत्पादनलाई उचित मूल्य सुनिश्चित गर्न आवश्यक नीति तथा कार्यक्रम लागू गर्ने बताए।
थोक बजारले स्थानीय किसानका लागि उत्पादन बिक्रीको सहज माध्यम उपलब्ध गराउने लक्ष्य लिएको छ। यसले कृषि व्यवसायलाई प्रवर्द्धन गर्दै आर्थिक समृद्धिमा योगदान पुर्याउने विश्वास गरिएको छ।