गोदावरीमा एमालेभित्रको अन्तरद्वन्द्व मत्थर,जरा केन्द्रित अभियानमा एकता देखियो

अत्तरिया, कैलालीकाे गोदावरी नगरपालिकामा नेकपा (एमाले) भित्रको आन्तरिक सकस केही मत्थर हुँदै गएपछि स्थानीय नेताहरू जरा केन्द्रित अभियानमा सक्रिय देखिएका छन्। सोमबार वडा नम्बर ४ मा भएको कार्यक्रममा पार्टीका विभिन्न गुटका नेताहरूको बाक्लो उपस्थिति देखियो।

यसअघि नगर कमिटीले जरा केन्द्रित अभियानलाई वडास्तरमा अघि बढाउने प्रयास गरे पनि उपस्थिति कमजोर देखिएको थियो। गोदावरीमा एमाले भित्र तीन उपगुट सक्रिय छन्, जसले पार्टी सचिव तथा सुदूरपश्चिम इन्चार्ज लेखराज भट्टलाई मूल नेतृत्व मान्ने गरेका छन्। यद्यपि, यी गुटहरू आन्तरिक रूपमा प्रतिस्पर्धात्मक रूपमा चलिरहेका छन्।

पुर्व मेयर हरि सिंह साउँद नेतृत्वको गुट हाल जिल्ला कमिटी सदस्य गणेश जिमी साउँदको कमान्डमा देखिन्छ। हरि सिंह साउदले हाल नैन सिंह कार्की समूहसँग निकटता बढाएको चर्चा भए पनि जिमी समूहले यसबारे औपचारिक धारणा सार्वजनिक गरेको छैन। जिमी पक्षधर एक नेताले भने, “अहिले त्यस्तो केही छैन। मेयर साप हाम्रो नेता हुनुहुन्छ, तर उहाँले गुट फेरेको भन्ने जानकारी छैन। उहाँलाई जिताउन हाम्रो भूमिका महत्त्वपूर्ण थियो, त्यो चाहिँ निश्चित हो।”

त्यस्तै, अर्का प्रदेश कमिटी सदस्य गोकर्ण भट्टको समूह पनि नगर कमिटीमा प्रभाव राख्नेगरी सक्रिय छ। नगर कमिटी सचिव विक्रम बिष्ट गोकर्ण समूह निकट छन्। हालका नगर कमिटी अध्यक्ष सन्तोष सिंह भने पूर्व मेयर हरि सिंह साउँदका समर्थक भए पनि साउँदले गुट परिवर्तन गरेपछि उनी नगर कमिटीमा अल्पमतमा परेका छन्। केही दिनअघि बसेको नगर कमिटीको बैठकमा सहमति नजुट्दा कुनै निर्णय हुन सकेन।

पार्टीभित्रको यस समस्याले जरा अभियानमा असर पार्न थालेपछि केही दिनअघि पार्टी इन्चार्ज लेखराज भट्ट, केन्द्रीय सल्लाहकार सदस्य हरि सिंह साउँद, कैलाली इन्चार्ज नारदमुनि राना तथा गोदावरीका अन्य नेताहरूबीच छलफल भएको थियो। इन्चार्ज भट्टले पार्टीभित्रको आन्तरिक विवाद मिलाएर अघि बढ्न निर्देशन दिएपछि स्थानीय नेताहरू जरा केन्द्रित अभियानमा जुट्न थालेका छन्। यसले पार्टीभित्रको आन्तरिक विवाद केही मत्थर भए पनि गुटगत प्रतिस्पर्धा कायम रहेको देखिन्छ।

 

ताजा समाचार