धनगढी, राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले पूर्वराजा ज्ञानेन्द्र शाहलाई निर्वाचन लड्नुपर्ने विषयमा उठेका प्रश्नहरूलाई कडा रूपमा खण्डन गरेका छन्। प्रमुख दलका नेताहरूले पटक–पटक चुनाव लड्न आउन चुनौती दिएपछि लिङ्देनले कटाक्ष गर्दै भने, “राजाले पहाडमा नभई मधेसका जनताले रोजगारी पाउन्, गरिखाने वातावरण बनोस् भनेर उद्योगहरू स्थापना गरेका थिए। तर ती उद्योगहरू बेचे, कृषि औजार कारखाना, चिनी मिल, जनकपुर चुरोट कारखाना बन्द गरे।”
उनले वर्तमान नेताहरूलाई भ्रष्टाचारमा मुछिएको आरोप लगाउँदै भने, “त्यस्ता भ्रष्ट नेताहरू अहिले राजालाई चुनाव लड्न आउन चुनौती दिइरहेका छन्।” लिङ्देनले राजसंस्थाको भूमिका स्पष्ट पार्दै भने, “राजा चुनाव लड्ने होइन, चुनाव लड्नका लागि हामीजस्ता मानिसहरू छन्। हामीले खोजेको राजा देशको राजा हो, कुनै राजनीतिक दलको होइन। राजा भोटको राजनीतिभन्दा माथि रहने संस्था हो।”
उनले हालको राजनीतिक अवस्थाप्रति असन्तुष्टि व्यक्त गर्दै देशको विकास र समृद्धिका लागि नयाँ दृष्टिकोण आवश्यक रहेको बताए। साथै, उनले जनताले चाहेको नेतृत्व नै देशको सही मार्गचित्र कोर्ने उल्लेख समेत गरे।