नेपालमा राजतन्त्रको भूत किन सल्बलायो?

कैलाश जाेशी,अत्तरिया:(परिवर्तनको अनिवार्यता)  नेपालमा पुनः राजतन्त्रको बहस तीव्र बन्दै गएको छ। संसदीय व्यवस्थाप्रति जनतामा बढ्दो निराशाले राजावादी प्रवृत्तिलाई मलजल गरिरहेको छ। तर, के राज संस्था राजतन्त्र कुनै समाधान हो? स्पष्ट छ, होइन। इतिहासले प्रमाणित गरिसकेको छ कि राजतन्त्र केवल सामन्ती लुटतन्त्रको पुनरावृत्ति मात्र हो।

नेपालमा संसदीय पूँजीवाद असफल भइसकेको छ। महँगी, बेरोजगारी, भ्रष्टाचार र आर्थिक असमानताले जनताको विश्वास समाप्त पारेको छ। पूँजीवादी दलाल सत्ताले आम जनताको समस्यालाई सम्बोधन गर्न सकेको छैन। यही असफलताले निराशामा डुबेका जनतालाई राजावादीहरू भ्रमित गर्न खोजिरहेका छन्। तर, समाज परिवर्तनशील हुन्छ। भौतिक नियमअनुसार कुनै पनि पुरानो संरचना स्थायी रहँदैन। पूँजीवाद आफैंमा एक संक्रमणकालीन अवस्था मात्र हो, जसको वैज्ञानिक विकल्प समाजवाद हो।

आज नेपालमा गहिरो आर्थिक तथा राजनीतिक संकट छ।
१) महँगीले जनताको जीवन कठिन बनाएको छ।
२) बेरोजगारीले युवा विदेश पलायन गरिरहेका छन्।
३) धनी-गरिब बीचको खाडल झन् गहिरिँदै गएको छ।
४) निरन्तर अस्थिरताले व्यवस्था नै असफल देखिएको छ।

यही असफलता देखेर केही समूह राजतन्त्रतर्फ फर्कन खोजिरहेका छन्। तर, इतिहास पछाडि फर्कँदैन। राजतन्त्र भूतकालको असफल मोडेल हो, जुन कुनै पनि हालतमा वर्तमान समस्याको समाधान हुन सक्दैन। यसको वास्तविक विकल्प भनेको समाजवाद हो।

समाजवाद भनेको श्रमजीवी वर्गको नेतृत्वमा न्यायसंगत समाज निर्माण गर्नु हो। समान अवसर, समान न्याय, शोषणको अन्त्य, शिक्षा, स्वास्थ्य र रोजगारीमा समान पहुँच समाजवादका आधारस्तम्भ हुन्। नेपालका युवाले अब समस्याको जडमा पुगेर समाधान खोज्नुपर्छ। समाजवादको यात्रा चुनौतीपूर्ण छ, तर यही अबको वैज्ञानिक समाधान हो। परिवर्तनको अनिवार्यता स्वीकारेर अघि बढ्ने कि पुरानो असफल संरचनातर्फ फर्कने? यही प्रश्नको सही उत्तर नै नेपालको भविष्य निर्धारण गर्नेछ।

 

ताजा समाचार