दुर्गालक्ष्मी महिला सामुदायिक वनको १५औँ वार्षिक साधारण सभा सम्पन्न

अत्तरिया, कैलालीकाे अत्तरियामा रहेको दुर्गालक्ष्मी महिला सामुदायिक वन उपभोक्ता समूहको १५औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ। बिहीबार गोदावरी नगरपालिकाकी उपप्रमुख शारदा देवी रोकायाको प्रमुख आतिथ्यतामा सभा सम्पन्न भएको हो।

साधारण सभालाई सम्बोधन गर्दै उपप्रमुख रोकायाले सामुदायिक वन उपभोगमा समानुपातिक वितरण प्रणाली आवश्यक रहेको बताइन्। “वनजन्य सामग्रीको समान वितरण गरेर हुँदैन, समानुपातिक वितरण गर्नुपर्छ,” उनले भनिन्, “कतिपयले धेरै पटक लाभ लिने, कतिपयले कुनै लाभ नपाउने अवस्थाको अन्त्य हुनुपर्छ।” साथै, उनले सामुदायिक वनलाई खण्ड खण्डमा विभाजन गरी चरन क्षेत्र छुट्याउनुपर्ने सुझाव दिइन्।

सामुदायिक वन उपभोक्ता महासंघ, नेपाल (फेकोफन) की गोदावरी नगर अध्यक्ष यादी रावतले लामो संघर्षपछि वन समुदायलाई उपभोग गर्न हस्तान्तरण गरिए पनि यसको संरक्षणमा सबैको ध्यान आवश्यक रहेको बताइन्। “वनमा केही व्यक्तिहरूको हालीमुहालीका कारण समस्या उत्पन्न भएको छ, यसलाई रोक्नुपर्छ,” उनले भनिन्।

त्यसैगरी, गोदावरी नगरपालिका–२ का पूर्व वडाध्यक्ष कृष्णराज जाेशीले हाल वन विनाश भइरहेको भन्दै यसको संरक्षणमा सबै सचेत हुनुपर्ने बताए। “नयाँ उम्रिरहेका बिरुवा जोगाउन आवश्यक छ,” उनले भने, “वन अतिक्रमण बढ्दै गएकाले यसको रोकथामका लागि सबैले जिम्मेवारी लिनुपर्छ।”

साधारण सभामा दुर्गालक्ष्मी महिला सामुदायिक वनकी अध्यक्ष सिवा कडायतले आगामी आर्थिक वर्ष २०८१/८२ का लागि १८ लाख ३० हजार ४४१ रुपैयाँको अनुमानित बजेट प्रस्तुत गरिन्। उक्त बजेटमध्ये ३५ प्रतिशत जीविकोपार्जनका लागि, २५ प्रतिशत वन विकासका लागि तथा बाँकी संस्थागत विकास, सामाजिक विकास र अन्य शीर्षकमा खर्च गरिने उनले जानकारी दिइन्।

सामुदायिक वनले आर्थिक वर्ष २०८०/८१ मा १५ लाख २६ हजार ५०२ रुपैयाँ आम्दानी गरेको थियो। साधारण सभाका अवसरमा समाजसेवी तथा वनका लेखा समिति संयोजक स्वर्गीय टिकादत्त जोशीप्रति श्रद्धाञ्जली अर्पण गरिएको थियो। फागुन १५ गते उनको निधन भएको थियो।

 

ताजा समाचार