कैलाश जाेशी अत्तरिया,नेपाल अहिले सामाजिक, आर्थिक, र राजनीतिक रूपान्तरणको महत्वपूर्ण मोडमा छ। विश्वव्यापी विज्ञान र प्रविधिको तीव्र विकासले मानिसको चेतनामा आमूल परिवर्तन ल्याएको छ, जसका कारण परम्परागत मान्यताहरू कमजोर हुँदै गएका छन्। क्वान्टम भौतिकशास्त्र, कृत्रिम बुद्धिमत्ता, र नानो-प्रविधिको विकासले औद्योगिक उत्पादन, सामाजिक संरचना, र अर्थतन्त्रको स्वरूप नै परिवर्तन गरिरहेको छ। यस्तो अवस्थामा, नेपालजस्ता मुलुकहरूले पुराना विचारहरूमा अडिग रहनुको सट्टा वैज्ञानिक दृष्टिकोणबाट समाजको नयाँ संरचना तयार गर्नुपर्ने आवश्यकता छ।
तर, नेपालका प्रमुख राजनीतिक दलहरू भने अझै पनि पुराना सिद्धान्तहरूमा जकडिएका छन्। नेपाली कांग्रेस, नेकपा (एमाले), र नेकपा (माओवादी केन्द्र) जस्ता ठूला दलहरू दशकौँ पुराना विचारहरूमा सीमित रहेर समाजलाई नयाँ दिशानिर्देश दिन असमर्थ छन्। समय बदलिसकेको छ, चेतनामा आमूल परिवर्तन आइसकेको छ, तर दलहरू पुरानै विचारको वरिपरि घुमिरहेका छन्। यस्तो अवस्थामा समाजले नयाँ मान्यताको खोजी गर्नु स्वाभाविक हो।
यही परिप्रेक्ष्यमा, नेपाल कम्युनिस्ट पार्टी (नेकपा) नेतृत्वको वैज्ञानिक समाजवादी अवधारणा महत्वपूर्ण रूपमा अगाडि आएको छ। नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाले आधुनिक भौतिकशास्त्र, समाजशास्त्र, र उत्पादन प्रणालीलाई समेटेर नवीन आर्थिक मोडेल प्रस्तुत गरेको छ। “New Economy Track” (NET) नाम दिइएको यो अवधारणाले उत्पादनका साधनहरूको एकीकृत स्वामित्व, सामूहिक उत्पादन, र व्यक्तिगत उत्तरदायित्वलाई समाहित गर्दै समाजवादी अर्थतन्त्रको ठोस आधार प्रस्तुत गरेको छ।
नेकपाले वैचारिक संश्लेषणको माध्यमबाट नयाँ वैज्ञानिक समाजवादी मोडेल निर्माण गर्ने दिशामा अनुसन्धान गरिरहेको छ। भौतिकशास्त्रमा अनिश्चितता, संभावना, रक्षा, र रूपान्तरण जस्ता सिद्धान्तहरूलाई समाजको अध्ययनमा समावेश गर्दै वैज्ञानिक समाजवादको नयाँ परिभाषा दिन खोजिएको छ। यसले नेपाललाई मात्र नभई विश्वव्यापी समाजवादी आन्दोलनलाई पनि नयाँ दिशा दिन सक्छ।
यसै सन्दर्भमा, नेकपाले आफ्नो नवौं महाधिवेशनमा दुईवटा फरक कार्यनीति अपनाउने निर्णय गरेको छ। पहिलो, खुला मोर्चा मार्फत निर्वाचन प्रक्रियामा भाग लिएर मध्यम वर्गीय जनताको सहभागिता सुनिश्चित गर्ने। दोस्रो, सडक संघर्ष मार्फत भ्रष्टाचार, बेथिति, र साम्राज्यवादविरुद्ध सशक्त प्रतिरोध निर्माण गर्ने।
नेपालका प्रमुख दलहरू विचारधारात्मक रूपले थकित भइसकेका छन्। तिनीहरू पुराना सिद्धान्तमा अड्किएर नयाँ युगलाई बुझ्न असमर्थ देखिन्छन्। यस्तो अवस्थामा नेकपाले प्रस्तुत गरेको वैज्ञानिक समाजवादी मोडेल नेपालका लागि मात्र नभई विश्व समाजवादी आन्दोलनका लागि पनि महत्वपूर्ण हुन सक्छ। नेपालजस्तो समाजवाद चाहने जनसङ्ख्याको बाहुल्यता भएको देशमा पुराना दलहरूको पतन अवश्यंभावी देखिन्छ।
यस संक्रमणकालीन समयमा समाजले नयाँ मान्यताको खोजी गरिरहेको छ। पुराना दलहरूको विचारगत संकट र नवउदारवादी शक्तिहरूको षड्यन्त्रलाई चिर्दै वैज्ञानिक समाजवादतर्फ अघि बढ्न नेतृत्व आवश्यक छ। यस्तो नेतृत्व नेकपा महासचिव विप्लवले दिन सक्ने देखिन्छ। यदि नेकपाले आफ्नो दृष्टिकोणलाई अझ व्यवहारिक रूपमा प्रस्तुत गर्न सकेमा, नेपाल समाजवादी क्रान्तिको एक प्रमुख मोडल बन्नेछ।
नेपालको समाजवादको यात्राले नयाँ मोड लिइरहेको छ। परम्परागत मान्यता र विचारधाराहरू परिवर्तनशील समाजलाई सम्बोधन गर्न असक्षम भइसकेका छन्। विज्ञान, प्रविधि, र सामाजिक संरचनामा आएका आमूल परिवर्तनहरूलाई आत्मसात् गर्दै नयाँ दिशानिर्देश दिन सक्ने नेतृत्व मात्र भविष्यको लागि सान्दर्भिक हुनेछ। यस सन्दर्भमा, नेकपाले अघि सारेको वैज्ञानिक समाजवादी मोडेल र नविन रणनीतिहरू नेपाललाई नयाँ दिशा दिने सामर्थ्य राख्छन्। अबको समय वैज्ञानिक समाजवादको हो, र नेकपा यस यात्राको नेतृत्वदायी शक्ति बन्ने संकेत गरिरहेको छ।