अत्तरिया: नेकपा (एमाले) को गोदावरी क्षेत्रमा आन्तरिक गुटबन्दीका कारण नेताहरूबीच नै दरार सिर्जना भएको देखिन्छ। पार्टीको मूल उद्देश्य एउटै भए पनि नेताहरूको गतिविधि फरक–फरक देखिएको छ। स्थानीय तहमा नेतृत्व को गर्ने भन्ने अन्योल कायमै रहेको छ, जसले गर्दा कार्यकर्ताहरूमा असन्तोष बढेको छ।
गोदावरीका नेताहरू एकजुट हुन नसक्दा पार्टीभित्र नै विवाद उत्पन्न भएको छ। स्थानीय तहमा कसको प्रभाव रहने भन्ने विषयमा नेताहरूबीच सहमति नजुट्दा एक अर्काप्रति शंका गर्ने अवस्था आएको छ। कतिपय कार्यकर्ताहरूले पार्टीभित्र देखिएको अन्तरसंघर्षको मुख्य कारण नेतृत्वको अभावलाई मानेका छन्।
धेरैले कैलाली क्षेत्र नम्बर ४ लाई नेकपा (एमाले) का सचिव लेखराज भट्टको प्रभाव क्षेत्र मान्छन्। तर, भट्ट सिंगो सुदूरपश्चिमको इन्चार्ज भएकाले उनलाई स्थानीय तहको नेतृत्वसँग मात्र जोडेर हेर्नु उचित नहुने धारणा राख्नेहरू पनि छन्। उनले पार्टीका ठूला रणनीति तय गर्ने भए पनि स्थानीय तहको नेतृत्वबारे अन्योल रहनु समस्याको जड रहेको विश्लेषण गरिएको छ।
स्थानीय नेताहरूबीच समन्वय नहुनु, गुटगत राजनीति हावी हुनु र आन्तरिक द्वन्द्व बढ्नुले पार्टी कमजोर बन्ने खतरा बढेको छ। कसको निर्देशनमा कसले पार्टीका गतिविधि सञ्चालन गर्ने भन्ने विषय स्पष्ट नहुँदा पार्टीभित्र अनुशासनहीनता मौलाइरहेको छ। कतिपय नेताहरूको स्वार्थ तथा व्यक्तिगत आकांक्षाले पार्टीभित्र असन्तुष्टि सिर्जना गरेको कार्यकर्ताहरू बताउँछन्।
यसरी आन्तरिक गुटबन्दी र नेतृत्व अन्योलका कारण नेकपा (एमाले) गोदावरी क्षेत्रमा कमजोर हुँदै गएको देखिन्छ। यदि समयमा नै एकता कायम गर्न नसकेमा आगामी राजनीतिक परिदृश्यमा यसले गम्भीर असर पार्न सक्ने देखिन्छ।