अत्तरिया,नेकपा (एमाले) का केन्द्रिय सचिव तथा सुदूरपश्चिम प्रदेश इन्चार्ज लेखराज भट्टले एमाले देशको बलियो शक्ति भएकै कारण चौतर्फी आक्रमण भइरहेको बताएका छन्। धनगढीमा सुरु भएको दुई दिने प्रचार कार्यशाला उद्घाटन गर्दै उनले एमालेलाई कमजोर बनाउने नियतले मिथ्या आरोप लगाइएको दाबी गरे।
भट्टले पार्टीका नेता तथा कार्यकर्तालाई वडा केन्द्रित जरा अभियान प्रभावकारी बनाउन निर्देशन दिए। उनले घर-घर पुगेर जनतासँग एकाकार हुनुपर्ने उल्लेख गर्दै चुनावी नतिजा सुधारका लागि प्रत्यक्ष सम्पर्क आवश्यक रहेको बताए।
कार्यक्रममा एमाले स्थायी कमिटी सदस्य तथा प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले सामाजिक सञ्जालमार्फत एमाले नेतृत्वविरुद्ध प्रहार भइरहेको बताए। उनले मिथ्या र गलत सूचनाहरू प्रयोग गरेर पार्टीलाई कमजोर बनाउन खोजिएको भन्दै कार्यकर्ताहरूले यसको प्रतिवाद गर्नुपर्ने बताए।
गौतमले काठमाडौं महानगर प्रमुख बालेन साह, रवि लामिछानेका समर्थक र माओवादी कार्यकर्ताहरूबाट एमालेविरुद्ध निरन्तर आलोचना भइरहेको बताए। यस्तो अवस्थामा नेतृत्व मौन बस्नु आश्चर्यजनक रहेको उनले टिप्पणी गरे। कार्यशालामा सुदूरपश्चिमका नौ वटै जिल्लाबाट एमाले नेता तथा कार्यकर्ताको प्रतिनिधिमूलक सहभागिता रहेको छ।