अत्तरिया,नेकपा (एमाले) का सचिव लेखराज भट्टले वर्तमान आवश्यकतालाई सम्बोधन गर्न सक्ने पार्टी एमाले मात्रै रहेको दाबी गरेका छन्। मंगलबार प्रेस चौतारी नेपाल कञ्चनपुर शाखाको आठौँ जिल्ला अधिवेशन उद्घाटन समारोहलाई सम्बोधन गर्दै उनले विचार नयाँ हुनुपर्ने बताएका हुन्।
उनले वर्तमान विश्व परिवेशलाई ध्यानमा राखी अघि बढ्न सक्ने नेतृत्व अहिलेको आवश्यकता भएको स्पष्ट पारे। ‘विश्व जुन गतिमा अगाडि बढिरहेको छ, त्यसलाई बुझेर नीति निर्माण गर्न सक्ने नेतृत्व चाहिन्छ,’ उनले भने।
भट्टले जनताको बहुदलीय जनवाद (जबज) नै नेपालको आवश्यकतालाई सम्बोधन गर्न सक्ने विचार भएको बताउँदै एमाले नै यो विचारलाई अवलम्बन गर्ने पार्टी भएको उल्लेख गरे। गणतन्त्र र संविधान विरोधीहरू सक्रिय रहेको बताउँदै उनले राजतन्त्र फर्कन नसक्ने प्रष्ट्याए। ‘मरेको मुर्दा जगाएर राजतन्त्र फर्काउने कुरा सम्भव छैन,’ उनले भने।
उनले राष्ट्रियताको नारा लगाउनेहरू भारतमा नेपाली विद्यार्थीको मृत्यु हुँदा मौन बस्ने प्रवृत्ति दोहो-रोपन गरेको टिप्पणी गरे। प्रधानमन्त्री केपी शर्मा ओलीले ट्विट गर्दा उग्र राष्ट्रवादको आरोप लगाउनेहरू अहिले चुप लागेर बसेको भट्टले उल्लेख गरे।
उनका अनुसार देशको स्रोत साधनको सही उपयोग गरेर विदेश जान बाध्य युवालाई स्वदेशमै रोजगारी सिर्जना गर्न आवश्यक छ। ‘परजीवी मानसिकता त्यागेर आत्मनिर्भर बन्नुपर्छ, यसमा पत्रकारको भूमिका महत्त्वपूर्ण छ,’ उनले भने।
साथै, उनले सामाजिक सञ्जाल नियमन विधेयक नियन्त्रणका लागि नभई समाजमा हुने अराजकता रोक्न ल्याइएको स्पष्ट गरे। देश निर्माणका लागि नयाँ सोच र दृष्टिकोण आवश्यक रहेको बताउँदै उनले जनताको मनोविज्ञान बुझेर नीति निर्माण गर्नुपर्नेमा जोड दिए।