अत्तरिया,कञ्चनपुरको कृष्णपुर नगरपालिका वडा नम्बर २ स्थित वाणी खानेपानी उपभोक्ता तथा सरसफाइ समितिको चौथो वार्षिक साधारण सभा भव्य रूपमा सम्पन्न भएको छ। कार्यक्रममा सुदूरपश्चिम प्रदेशकी उपसभामुख कोइली देवी चौधरी प्रमुख अतिथि रहनुभएको थियो। कार्यक्रमको अध्यक्षता खानेपानी समितिका अध्यक्ष गगन भारतीले गर्नुभएको थियो।
सभालाई सम्बोधन गर्दै उपसभामुख चौधरीले जनताको हकअधिकारका सवालमा आफू सधैं संवेदनशील रहँदै आएको बताउनुभयो। उहाँले भन्नुभयो, “मैले सुदूरपश्चिमका नौवटा जिल्लाको प्रतिनिधित्व गर्दै समानता र समावेशिताको पक्षमा काम गर्दै आएको छु। वाणी क्षेत्रमा खानेपानीको समस्या गम्भीर रहेको गुनासो सुनेपछि म यस समस्याको समाधानका लागि सक्दो प्रयासमा जुटेँ।
अहिले सानो भएपनि बजेट विनियोजन गर्न सफल भएको बताउँदै आफू पदमा रहन्जेल सम्म भित्र यस खानेपानीमा निरन्तर बजेट आउने व्यवस्था गरेर जाने समेत उहाँले बताउनुभयो। परियोजना सञ्चालनमा आउनुले यस क्षेत्रमा सुधारको सुरुवात भएको समेत उहाँले बताउनु भयाे ।
उपसभामुख चौधरीले वाणी क्षेत्रमा शुद्ध खानेपानी आपूर्ति गर्न सहयोग गर्न पाएकोमा खुसी व्यक्त गर्दै स्थानीयवासी र संस्थाको आभार प्रकट समेत गर्नुभयो।
कार्यक्रमका अध्यक्ष गगन भारतीले वाणी खानेपानी आयोजनाबाट हाल झन्डै ४०० परिवारले साढे चार लाख लिटर शुद्ध पानी उपभोग गरिरहेको जानकारी दिनुभयो। परियोजनाको कुल क्षमता १,५०० परिवारलाई पुग्ने भएकाले यसको विस्तारको योजना रहेको उहाँले उल्लेख गर्नुभयो।
“खानेपानी व्यवस्थापनमा कुनै किसिमको समस्या देखिएको छैन। धेरै खानेपानीहरूमा बोरिङहरू सुक्ने आर्सेनिक चुनाका कारण पाइपलाइन बन्द हुने समस्या पनि हामीले सामना गर्नुपरेको छैन,” अध्यक्ष भारतीले भन्नुभयो।
अहिले हामीले २४सै घण्टा उपभोक्ताहरूलाई खानेपानी दिइरहेको र नयाँ घरधुरी संख्या र बसोबास विस्तार भइरहेकाले उपभोक्ता सङ्ख्या पनि बढिरहेकाले खानेपानीलाई दिनको दुई/तीन टाइम मिलाएर व्यवस्थापन गरेर लैजाने र सुकुम्बासी बस्तीहरू पनि रहेकाले उनीहरुलाई पनि कसरी व्यवस्थापन गर्न सकिन्छ त्यो पाटोमा हामी लागिरहेको समेत उनलेे बताउनुभयो
कार्यक्रममा उपभोक्ताहरूले खानेपानी आयोजनालाई अझै कसरी प्रभावकारी बनाउन सकिन्छ भन्ने विषयमा आफ्ना सुझाव र विचार राखेका थिए। उपभोक्ताहरूको उल्लेखनीय सहभागिताले कार्यक्रमलाई अझै अर्थपूर्ण बनाएको थियो।
यस साधारण सभाले वाणी खानेपानी समितिको प्रभावकारी सञ्चालन र व्यवस्थापनमा नयाँ सम्भावनाहरूको खाका कोर्ने अपेक्षा समेत गरेका थिए।