अत्तरिया, कैलालीको गोदावरी नगरपालिका वडा नं ५ गेटास्थित विश्वज्योति महिला विकास बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडले आफ्नो २२औं वार्षिक साधारण सभा सम्पन्न गरेको छ। संस्थाकी अध्यक्ष खिमा देवी ओझाको सभापतित्वमा सम्पन्न सभामा राष्ट्रिय सहकारी बैंक धनगढी कार्यालयका प्रमुख दिनेश गेलाल प्रमुख अतिथि रहेका थिए।
प्रमुख अतिथि गेलालले सहकारी संस्थाले उत्कृष्ट योजना बनाएर काम गर्नुपर्ने आवश्यकता औंल्याउँदै, सदस्यहरूको हितलाई प्राथमिकता दिनुपर्नेमा जोड दिए। सहकारीको सूचाङ्क प्रगतिका लागि नीति तथा नियमावलीको पालनाको महत्व रहेको बताउँदै उनले राष्ट्रिय सहकारी बैंकको निरन्तर सहयोग रहने प्रतिबद्धता व्यक्त समेत गरेका थिए ।
सभामा संस्थाकी अध्यक्ष खिमा देवी ओझाले वार्षिक प्रतिवेदन प्रस्तुत गरिन्। सचिव लक्ष्मी भट्टले प्रगति प्रतिवेदन र व्यवस्थापक मिना पन्तले आय-व्यय विवरण प्रस्तुत गरे। संस्थाले आर्थिक वर्ष २०८०/०८१ को अन्त्यसम्ममा १० करोड ५७ लाख २१ हजार रुपैयाँ बराबरको कारोबार गरेको विवरण प्रस्तुत गरिएको थियो।
२०५८ सालमा ८० सदस्यको प्रारम्भिक समूहबाट सुरु भएको यस सहकारीले हाल १ हजार ८ जना शेयर सदस्यहरूको सहभागिता रहेको छ। संस्थाको शेयर पूँजी १ करोड ४२ लाख ५४ हजार ४०० रुपैयाँ, बचत संकलन ५ करोड ४५ लाख ८० हजार रुपैयाँ, र ऋण लगानी ६ करोड ७६ लाख ४८ हजार रुपैयाँ पुगेको छ। सभामा स्वागत मन्तव्य उपाध्यक्ष बेलु पार्कीले राखेकी थिइन् भने कार्यक्रमको सञ्चालन सचिव लक्ष्मी भट्टले गरेकी थिइन्।