अत्तरिया कृषि सहकारीले १७ लाख खुद नाफा आर्जन गर्न सफल, दोस्रो चुनावी सभाबाट सर्वसम्मत साउद अध्यक्षमा चयन

अत्तरिया, कैलालीकाे गोदावरी नगरपालिका–१, बंनखेतमा रहेको अत्तरिया कृषि सहकारी संस्था लिमिटेडले नवौं वार्षिक साधारण सभा तथा दोस्रो चुनावी सभा सम्पन्न गरेको छ। संस्थाले आर्थिक वर्ष २०८०/०८१ सम्ममा १७ लाख ६९ हजार ९२५ रुपैयाँ खुद नाफा आर्जन गरेको छ।

शुक्रबार सुदूरपश्चिम प्रदेश सभा सदस्य खेमा देवी विष्टको प्रमुख आतिथ्यतामा आयोजित सभामा सहकारीको दिगो कृषि उत्पादन र आर्थिक विकास अभियानलाई मुख्य नारा बनाइएको थियो। सभामा राष्ट्रिय सहकारी बैंक धनगढीका कार्यालय प्रमुख दिनेश गेलाल, गोदावरी नगरपालिका सहकारी शाखा प्रमुख दिव्यराज जोशी लगायतका विशिष्ट अतिथिहरूको उपस्थिति रहेको थियो।

सभामा सहकारीका अध्यक्ष विक्रम विश्वकर्माले वार्षिक प्रतिवेदन प्रस्तुत गरे। लेखा परीक्षण प्रतिवेदन लेखा समिति संयोजक नन्दराज भट्ट र आयव्यय प्रतिवेदन प्रबन्धक सक्रान्ति भट्टले प्रस्तुत गरेका थिए।

यस सहकारीको २०७३ मा ५ लाख ४० हजार रुपैयाँको प्रारम्भिक पूँजीबाट सुरु भएको यस संस्थामा हाल ८७४ जना शेयर सदस्य रहेका छन्। शेयर पूँजी ८८ लाख ७२ हजार ८०० रुपैयाँ पुगेको छ। आर्थिक वर्ष २०८०/०८१ मा सहकारीले ७ करोड १७ लाख रुपैयाँको आर्थिक कारोबार गरेको छ। संस्थाले ३ करोड ६३ लाख ३९ हजार २०७ रुपैयाँ बचत संकलन गरेको छ भने ६ करोड १४ लाख ५१ हजार ३७० रुपैयाँ ऋण लगानी गरेको छ।

साधारण सभाको अवसरमा उत्कृष्ट सदस्यहरूलाई नगद पुरस्कारसहित सम्मान गरिएको छ। सहकारीले शैक्षिक, पशुपालन, बचतकर्ता, र ऋणी सदस्यहरूलाई विभिन्न विधामा उत्कृष्टताको आधारमा पुरस्कृत गरेको हो।

सामाजिक कार्यतर्फ सदस्यहरूलाई सुत्केरी प्रोत्साहनस्वरूप १,००० रुपैयाँ र मृत सदस्यको परिवारलाई दाहसंस्कारका लागि ५,००० रुपैयाँ दिने कार्य निरन्तरता दिँदै आइरहेको छ।

दोस्रो चुनावी सभाले देव बहादुर साउदलाई अध्यक्षमा सर्वसम्मत चयन गरेको छ। आगामी चार वर्षका लागि ११ सदस्यीय कार्यसमिति गठन गरिएको छ। उपाध्यक्षमा शेर बहादुर राई, सचिवमा पदम बहादुर खाती, कोषाध्यक्षमा सन्तु मगराठी सार्की चयन भएका छन्। अन्य सदस्यहरूमा दुर्गा महत, केशव सिंह गुरुङ, सविता भण्डारी, हरि कृष्ण पाण्डे, केशर सिंह गुरुङ, पुनम देवी भट्ट, खेम बहादुर ढकाल र कृष्ण बहादुर नेपाली चयन भएका छन्।

लेखा समितिको संयोजकमा नन्दराज भट्ट र सदस्यहरूमा भागरथी कुमारी बडु र धर्मा देवी साउद चयन भएका छन्।
कार्यक्रमको सञ्चालन संस्थापक उपाध्यक्ष शिव राज रेग्मीले गरेका थिए भने स्वागत मन्तव्य सल्लाहकार संयोजक हरि कृष्ण पाण्डेले दिएका थिए।

साधारण सभामा निर्वाचित पदाधिकारीहरूलाई सपथ ग्रहण समेत गराइएको थियो।

 

 

ताजा समाचार