अत्तरिया: कैलालीको गोदावरी नगरपालिकाकी उपप्रमुख तथा अनुगमन समितिकी संयोजक शारदा देवी रोकायाको नेतृत्वमा खुटिया र खैराना नदीको अनुगमन सम्पन्न भएको छ।
उपप्रमुख रोकायाले प्रमुख प्रशासकीय अधिकृत हरिदत्त भट्ट, इन्जिनियर पूर्ण कुँवर अन्य प्राविधिकसहितको टोलीका साथ नदीको अवस्था निरीक्षण गरेकी हुन्।
यसअघि, बुधबार नेकपा एमाले गोदावरी नगर कमिटीले खुटिया नदीमा मापदण्ड विपरीत उत्खनन भइरहेको आरोप लगाउँदै नगर प्रमुख र उपप्रमुखलाई खबरदारी गरेको थियो। एमालेका प्रतिनिधिहरूले वातावरणीय प्रभाव मूल्यांकन (ईआईए) अनुसार तोकिएको क्षेत्रमा भन्दा बाहिर उत्खनन भइरहेको र निर्धारित गहिराइभन्दा तल खनिएको दाबी गरेका थिए।
तर आजको अनुगमनपछि, अनुगमन टोलीले मापदण्ड विपरीत उत्खनन नभएको निष्कर्ष निकालेको छ।
“मापदण्ड अनुसार काम भइरहेको”-उपप्रमुख रोकाया
अनुगमनपछि उपप्रमुख रोकायाले नदीजन्य पदार्थको उत्खनन मापदण्डअनुसार भइरहेको बताइन्। उनले नियमित अनुगमनका क्रममा तोकिएका मापदण्ड पालना भएको पाइएको स्पष्ट पारिन्।
प्रमुख प्रशासकीय अधिकृत हरिदत्त भट्टले पनि अनुगमनमा पाइएको तथ्यांकले सञ्चारमाध्यममा आएको जस्तो अनियमितता नभएको दाबी गरे।
प्राविधिक प्रतिवेदन: मापदण्डको पालना भएको पुष्टि
गोदावरी नगरपालिकाका इन्जिनियर पूर्ण कुँवरले आइईई प्रतिवेदनअनुसार तोकिएको स्थानमा १ मिटरभन्दा बढी गहिराइमा उत्खनन नगरिएको र सम्पूर्ण प्रक्रिया मापदण्डअनुसार सञ्चालन भएको जानकारी दिए।
नगरस्तरीय अनुगमन समितिले ठेकेदारलाई मापदण्ड अनुसारको काम निरन्तर गर्न निर्देशन दिएको छ। साथै, सबै पक्षलाई निगरानी बढाउन आह्वान गरिएको छ।
अवैध उत्खननको आरोप अस्वीकार
गोदावरी नगरपालिका अनुगमन समितिले एमाले नगर कमिटीद्वारा लगाइएको अवैध उत्खननको आरोप खारेज गर्दै, नगरपालिका र ठेकेदार कम्पनीले सम्झौताअनुसारको कार्य सम्पन्न गरिरहेको जनाएको छ।
नगरपालिकाले खोलाको बहाव र संरचना बिग्रने गरी कुनै पनि गतिविधि नगर्न स्पष्ट निर्देशन दिएको र त्यसको पालना भइरहेको दाबी गरिएको छ।
अनुगमन टोलीले खुटिया र खैराना नदीमा मापदण्डअनुसार उत्खनन भइरहेको निष्कर्ष निकालेको छ। नगरपालिकाले वातावरणीय प्रभाव र स्थानीय जनताको चासोका विषयलाई ध्यानमा राखी आगामी दिनमा पनि नियमित अनुगमनलाई प्राथमिकता दिने जनाएको छ।