अत्तरिया: कृष्णपुर नगरपालिका नगरस्तरीय १५औं राष्ट्रपती रनिङ् शिल्ड प्रतियोगितामा कृष्णपुर नगरपालिका वडा नं ७ शान्तिपुरस्थित कञ्चन माध्यमिक विद्यालयले उपाधि जितेको छ। पौष २३ गतेबाट सञ्चालन भएको यो प्रतियोगिता बिहीबार समापन भएको हो।
कञ्चन माविले १७ स्वर्ण, ५ रजत, र १० कास्य पदक जित्दै प्रथम स्थान हासिल गर्यो। दोस्रो स्थानमा वडा नं २ वाणीस्थित जे.बी. एकेडेमी रहेको छ। यस विद्यालयले ७ स्वर्ण, ९ रजत, र १३ कास्य पदक जितेको थियो। तेस्रो स्थान वडा नं ५ स्थित कञ्चनजंगा ई-बोर्डिङ स्कूलले ६ स्वर्ण, २ रजत, र ४ कास्य पदकसहित प्राप्त गर्यो। चौथो स्थानमा वडा नं २ वंकस्थित उदयदेव माध्यमिक विद्यालयले ५ स्वर्ण, ३ रजत, र ३ कास्य पदकसहित स्थान बनाएकाे छ।
प्रतियोगितामा नगरका २६ विद्यालयहरूले सहभागिता जनाएका थिए। कार्यक्रम वडा नं २ वाणीस्थित सरस्वती माध्यमिक विद्यालयको प्रांगणमा सम्पन्न भएको थियो।
समापन समारोहका प्रमुख अतिथि प्रदेश सभा सदस्य गीता चौधरीले प्रतियोगितामा तीन दिनसम्म विभिन्न खेल विधामा उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीहरू र विद्यालयप्रति आभार व्यक्त गरिन्। उनले छनोट भएका खेलाडीहरू जिल्ला स्तरमा नगरको नाम राख्ने र राष्ट्रिय स्तरमा कञ्चनपुरको पहिचान दिलाउने विश्वास व्यक्त गरिन्। प्रतियोगितामा छनाेट हुन नसकेका खेलाडी र विद्यालयलाई आगामी दिनमा सहभागी जनाएर उत्कृष्ट प्रदर्शन गर्नेछन् भन्ने आशासँगै शिक्षालाई निरन्तरता दिन आग्रह गरेकी थिइन् ।
कृष्णपुर नगरपालिकाका नगरप्रमुख हेमराज ओझाले प्रतियोगिताको सफल आयोजना गर्न सहयोग गर्ने सम्पूर्ण व्यक्तिहरूलाई धन्यवाद दिंदै आगामी १६औं संस्करणको राष्ट्रपति रनिङ् शिल्ड प्रतियोगिता नगरपालिका पूर्व क्षेत्रका विद्यालयहरूमा आयोजना गरिने जानकारी दिए। महत्त्वपूर्ण योगदान र भविष्यका योजनाहरू प्रतियोगितामा साना र ठूला विद्यालयहरूको सहभागिताले खेलकुद क्षेत्रको महत्वलाई उजागर गरेको नगरप्रमुखले बताए।
यस सफल आयोजनाले नगरभित्रका विद्यालयहरूमा शैक्षिक र खेलकुद गतिविधिको सूचाङ्क सकारात्मक प्रभाव पर्ने आशा व्यक्त गरेका थियोे।यस प्रकारका प्रतियोगिताले नगरस्तरीय खेलकुद प्रतिभाको पहिचान मात्र होइन, खेलकुद र शिक्षाको समन्वयलाई थप राम्रो बनाएर लैजाने नगरप्रमुख ओझाले बताउनुभयो।