अत्तरियाः कैलालीको गोदावरी नगरपालिकाका आधारभूत (कक्षा १-३) का शिक्षकहरूलाई गणित विषय अध्यापनमा दक्ष बनाउन तीन दिने विशेष तालिम कार्यक्रम आजदेखि अत्तरियामा सुरु भएको छ। यस तालिममा समुदायिक विद्यालयका दुई दर्जन शिक्षकहरूले सहभागिता जनाएका छन्।
तालिमको उद्घाटन कार्यक्रम रोटरी क्लबका अध्यक्ष डा. सुशील कुमार भण्डारीको अध्यक्षतामा भएको कार्यक्रमका प्रमुख अतिथि मुख्य न्यायाधिवक्ता ठेकेन्द्र राज जोशी, बिशिष्ट अतिथिका रूपमा गोदावरी नगरपालिका शिक्षा शाखा प्रमुख प्रयागराज जोशी लगायतको उपस्थिति रहेको थियो।
तालिम प्रशिक्षण नन्दिनाथ एकेडेमी धनगढीका लालबहादुर कठायत र सञ्जु आचार्यले शिक्षकहरूलाई प्रशिक्षण प्रदान गरिरहेका छन् भने उद्घाटन कार्यक्रममा रोटरी क्लबका पूर्वअध्यक्ष तथा नन्दिनाथ एकेडेमी धनगढीका संचालक महेश विष्टले स्वागत मन्तव्य राख्दै रोटरी क्लबले गोदावरी नगरपालिकामा शिक्षा, स्वास्थ्य र विकासका क्षेत्रमा गर्दै आएको योगदानको चर्चा गरे।
रोटरी क्लब धनगढीले काठमाडौंको बुढानिलकण्ठ स्कुलको टोलीसँग सहकार्य गरी तालिमको आयोजना गरेको हो। बुढानिलकण्ठ स्कुलमा अध्ययनरत केही विद्यार्थीहरूले सुदूरपश्चिमका शिक्षकहरूको अध्यापन कौशलमा सुधार ल्याउने उद्देश्यले तालिम सहजीकरण गरेका छन्। प्रशिक्षार्थी एरिका विष्टका अनुसार यो तालिम शिक्षामा समानता र गुणस्तर वृद्धि गर्न लक्षित छ।
तीन दिने यो तालिमले शिक्षकहरूलाई मात्र सशक्त बनाएर नछोडी विद्यालय स्तरमा ठोस कार्यान्वयन गरिने उद्देश्य राखेको छ। मुख्य न्यायाधिवक्ता जोशीले तालिमले विद्यार्थीहरूको भविष्य उज्यालो बनाउन महत्त्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरे। शिक्षा क्षेत्रको समृद्धिका लागि यस्ता कार्यक्रमहरूले दीर्घकालीन प्रभाव पार्ने अपेक्षा गरिएको छ।