लेखराज भट्टले एमाले परित्याग गरेको खबर भ्रामक भएको स्पष्टिकरण

अत्तरिया, नेकपा एमालेका केन्द्रीय कमिटी सचिव तथा सुदूरपश्चिम प्रदेश कमिटी इन्चार्ज लेखराज भट्टले एमाले पार्टी परित्याग गरेको भन्ने विभिन्न मिडिया र सामाजिक सञ्जालमा फैलिएका समाचार असत्य र भ्रामक रहेको उनका स्वकीय सचिव सागर भट्टले स्पष्ट पारेका छन्।

सचिव सागर भट्टले मेसेन्जरमार्फत गरिएको संवादमा यी अफवाहपूर्ण खबरमा कुनै सत्यता नभएको जानकारी गराउँदै भ्रामक प्रचारप्रति गम्भीर ध्यानाकर्षण गराएका छन्। “लेखराज भट्टज्यूले पार्टी परित्याग गर्नु भएको भन्ने कुरामा कुनै सत्यता छैन। यो पूर्ण रूपमा झूटो र भ्रामक हो,” उनले भने।

यसैबीच, सामाजिक सञ्जालमा यस विषयमा टिप्पणी गरेका भिम उपाध्यायले पनि आफूले यसअघि लेखेको पोस्ट हटाइसकेको जनाएका छन्। “समाचारको खण्डन आएको कारण मैले मेरो पोष्ट डिलिट गरिदिएको छु,” उपाध्यायले बताए।

फेक न्युजको बढ्दो प्रवृत्तिप्रति चिन्ता व्यक्त गर्दै भट्टका समर्थकहरूले यस्ता भ्रामक खबरले पार्टी र नेतृत्वप्रति अनावश्यक भ्रम उत्पन्न गर्ने बताएका छन्।

पार्टीभित्रको आन्तरिक विषयलाई तोडमोड गरेर गलत प्रचार गर्ने गतिविधिप्रति भट्ट पक्षले आपत्ति जनाउँदै सत्यतथ्यमा आधारित जानकारीमात्रै फैलाउन सबैलाई आग्रह गरेका छन्।

 

 

ताजा समाचार