अत्तरिया, गोदावरी नगरपालिकामा नेकपा एमाले पार्टीका केही सदस्यहरूले पार्टी परित्याग गरेको भन्दै प्रचारित समाचारलाई स्थानीय नेताहरूले गलत र भ्रामक भन्दै खण्डन गरेका छन्। शिव शंकर टोलका स्थानीय नेता तथा कार्यकर्ताहरूले आफूहरूले कुनै पनि विज्ञप्तिमा हस्ताक्षर नगरेको दाबी गरेका छन्।
स्थानीय नेताहरूका अनुसार, समाचारमा प्रयोग गरिएका हस्ताक्षर कसरी, कहाँ, र कसले गरे भन्नेबारे उनीहरूलाई कुनै जानकारी छैन। “हामीले त्यस्तो कुनै विज्ञप्ति जारी गरेका छैनौं। हाम्रो नाम दुरुपयोग गरी भ्रम फैलाउने प्रयास भएको छ,” स्थानीय नेतृ जानकी भट्टराईले बताइन्।
“एमाले थिए, छौँ, र रहन्छौँ”
नेताहरूले आफ्नो धारणा स्पष्ट गर्दै भनेका छन्, “हिजो पनि हामी एमाले थियौं, आज पनि एमाले छौं, र भोलि पनि एमालेकै रुपमा यो क्षेत्रको विकासका लागि काम गरिरहने छौं। पार्टी छोड्ने वा पार्टीमाथि गद्दारी गर्ने हाम्रो कुनै सोच छैन।”
यो खण्डनका क्रममा सरस्वती कामी, जानकी भट्टराई, जैमति कामी, र चुुनुवा कोलीलगायतका ७८ वर्षीय स्थानीय नेताहरूको सक्रिय उपस्थिति रहेको थियो। उनीहरूले क्षेत्रको विकासका लागि सधैं पार्टीप्रति वफादार भएर काम गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।
स्थानीय नेता तथा कार्यकर्ताहरूले एमाले पार्टीलाई कमजोर बनाउन र नेताहरूलाई बदनाम गर्न केही व्यक्तिहरूले यस्ता भ्रामक हल्ला फैलाएको आरोप लगाएका छन्। “हामी यस क्षेत्रको समृद्धि र विकासका लागि सधैं अडिग छौं। यस्तो भ्रममा नपर्न सबैलाई आग्रह गर्दछौं,” नेतृ सरस्वती कामीले भनिन्।
नेकपा एमाले प्रदेश कमिटी सदस्य गोकर्ण भट्टले हालै अत्तरिया क्षेत्रका ४६ जना स्थानीय नेता तथा कार्यकर्तासँग स्थलगत भेटघाट गर्दै सामाजिक सञ्जाल र मिडियामा आएको भ्रामक समाचारबारे छलफल गरेका छन्।
भेटका क्रममा भट्टले विज्ञप्तिमा हस्ताक्षर गरेको भनिएका नेताहरूसँग कुराकानी गर्दै वास्तविकता बुझ्ने प्रयास गरे। “तपाईंहरूको हस्ताक्षर रहेको छ भन्ने समाचार आएको छ,” भन्ने प्रश्नमा स्थानीय नेता-कार्यकर्ताहरूले आफूहरूले कुनै पनि विज्ञप्तिमा हस्ताक्षर नगरेको स्पष्ट पारे।
नेताहरूले हस्ताक्षर दुरुपयोग भएको दाबी गर्दै, केही रोजगारीको सिलसिलामा भारत गएका सदस्यहरूको समेत हस्ताक्षर गरिएको फेला परेको जानकारी दिए। यो घटनाले नेता गोकर्ण भट्टलाई चकित बनायो। उनले नेकपा एमालेलाई कमजोर बनाउन नियोजित घेराबन्दीको षड्यन्त्र भएको बताउँदै सबै नेता तथा कार्यकर्तालाई सचेत रहन आग्रह गरे।
नेता भट्टले केही अराजक तत्त्वहरूले पार्टीलाई कमजोर बनाउने र बदनाम गर्ने प्रयास गरिरहेको भन्दै यसविरुद्ध कडा कारबाही गर्नुपर्ने धारणा राखे। “एमाले सिद्धियो र सकियो भन्ने भ्रम सिर्जना गर्न निरन्तर षड्यन्त्र भइरहेको छ,” भट्टले भने।
पार्टीमाथि भइरहेको आक्रमण र भ्रमलाई चिर्न नेकपा एमालेले अब घरदैलोमा आउने प्रतिबद्धता व्यक्त गरेका छ। टोल, गाउँ, र प्रत्येक स्थानमा पुगेर पार्टीका सदस्यहरूले जनतालाई साँचो तथ्य सार्वजनिक गर्ने बेला आएको समेत उहाँले बताउनुभयो।
यस विषयमा सत्यतथ्य उजागर गर्न र दोषीमाथि कारबाही गराउन पार्टीले आवश्यक पहल गर्ने पनि उनले बताए। विज्ञप्तिसहित