अत्तरिया,कञ्चनपुरकाे कृष्णपुर नगरपालिका- २, बंकस्थित पूर्वपश्चिम राजमार्गमा विङ्गर र मोटरसाइकल आपसमा ठोक्किँदा चार जना घाइते भएका छन्।
आज शनिबार बिहान पूर्वतर्फ गइरहेको सुप प्र ०२००१ ज ०४१७ नम्बरको विङ्गर र पश्चिमतर्फ गइरहेको से४ प १६६१ नम्बरको मोटरसाइकल एक आपसमा ठोक्किँदा यो दुर्घटना भएको हो। अस्थायी प्रहरी पोस्ट वाणीका अनुसार दुबै सवारी साधन अनियन्त्रित भई ठोक्किएको हो।
दुर्घटनामा परेर कृष्णपुर २ वाणि ‘मुक्तकमैया बस्ती’का नारदमणि राना, पुष्पराज चौधरी, र सन्तोष चौधरी गम्भीर घाइते भएका छन्। घाइतेहरूको धनगढीस्थित माया मेट्रो अस्पतालमा उपचार भइरहेको छ।
त्यस्तै, विङ्गरमा सवार अन्दाजी ६५ वर्षका वृद्ध जयबहादुर कुँवर सामान्य घाइते भएका छन्। अस्थायी प्रहरी पोस्टका प्रमुख प्रहरी सहायक निरीक्षक ललित बटालाले घाइतेहरूको अवस्था र दुर्घटनाको जानकारी दिएका छन्।