भीम रावलको अभियानले सुदूरपश्चिम एमालेमा प्रभाव नपर्ने एमाले नेताहरूको दाबी

अत्तरिया,एमालेबाट निष्कासित भएपछि पूर्वउपाध्यक्ष डा. भीम रावलले मातृभूमि जागरण अभियान सञ्चालन गर्ने घोषणा गरेका छन् ।

बुधबार काठमाडौंमा पत्रकार सम्मेलन गरी रावलले देश र जनताको हकहित रक्षा गर्न राष्ट्रव्यापी रूपमा उक्त अभियान सञ्चालन गर्ने बताएका थिए । सो क्रममा भ्रष्टाचार र कुशासनविरुद्ध जनतालाई जागरुक बनाइने उनको भनाइ थियो । ‘अहिलेको मातृभूमि जागरण अभियान, भविष्यको सशक्त देशभक्तिपूर्ण संगठनको आधार हुनेछ,’ उनले भनेका थिए ।

रावलले अभियान घोषणा गरेपछि उनको गृहप्रदेश सुदूरपश्चिममा कस्तो प्रभाव पर्ला ? भन्ने चासो बढेको छ ।

रावलले अभियान हुँदै पार्टी सञ्चालन गर्ने तयारी गरेपछि सबैभन्दा बढी प्रभाव उनको गृहजिल्ला अछाममा पर्ने अनुमान गरिएको छ । अछाम नै घर भएका एमाले सुदूरपश्चिमका अध्यक्ष कृष्णप्रसाद जैशी भने रावलले नयाँ पार्टी खोले ठूलो प्रभाव नपर्ने बताउँछन् । ‘कोही आफन्त, नातागोता, नजिकका व्यक्ति र पद नपाएर असन्तुष्ट भएकाहरू गए पनि ठूलो प्रभाव पर्ने छैन,’ उनले भने, ‘गैर कम्युनिस्ट पार्टी बनाएपछि उहाँहरू पनि जानु हुन्न होला । देशभक्तिका लागि उत्पात मच्चाएर यो देशको कायापलट गर्छु भन्दा कसैले पनि पत्याउँदैन ।’ रावलले पार्टी नै खोलेपछि निर्वाचनमा केही प्रभाव भने पर्ने उनी बताउँछन् ।

नेकपा एमालेका सुदुरपश्चिम प्रदेश सचिव रण बहादुर चन्दले   रावलले पार्टी खोले उहाँसगं एमालेका इमान्दार कार्यक्रता नजाने बताएका छन् । सचिव  चन्दले लामो समय एमालेका लागी काम गरेका र एमालेमै भविश्य देखेका लाखौँ कार्यक्रता कुनै ब्यक्तीकै पछाडी नलाग्ने बताएका हुन् ।

भिम रावल हिजो पार्टी महादिवेशनमा अध्यक्ष लड्नुभो र पराजित हुनुभयो, कार्यक्रताले अहिलेको समयमा पार्टी नेतृत्व केपी ओलीलेनै चलाउन सक्नुहुन्छ भनेर उहाँलाई जिम्मा दिनुभयो चन्दले भने “रावल पराजित भइसकेपछि पार्टीको निति बिधि अगिंकार गरेर जानुपर्नेमा निरन्तर त्यसका बिरुद्ध जानुभयो, चुनावमा समेत कार्यक्रताका बिचमा स्वबिवेक प्रयोग गर्नुस भनेर भन्नुभयो, मलाई याद छैन उहाँ यो पार्टी कार्यालयमा आउनुभएको, त्यस पछि केन्द्रिय पार्टी कार्यालयमा पनि उहाँ जानुभएको छैन, उहाँले नेतृत्वसगं पनि भेट्नुभएन, ठाउँ ठाउँमा कोठे बैठक गर्नुभयो तर पार्टीका कुनै बैठक, कार्यक्रममा सहभागी हुनुभएन ।”

रावलनिकटकै रावलको अभियानबारे धेरै जानकारी नपाएको बताउँछन् । रावललाई गरिएको कारबाही भने धेरैलाई मन परेकाे छैन । ‘पत्रकार सम्मेलनमार्फत आफ्नो धारणा राख्नुभएको विषयमा म जानकार छु,’ विगतमा उनीनिकट रहेका एक नेताले भने, ‘अभियानबारे मलाई धेरै जानकारी छैन । उहाँलाई कारबाही गरेर पार्टीले गर्नै नहुने निर्णय भने गरेको हो ।’ अहिले सुदूरपश्चिमका ९ जिल्लामा जिल्ला कमिटी अध्यक्ष रावल पक्षका कोही पनि छैनन् । जिल्ला कमिटीमा पदाधिकारी र सदस्यमा पनि रावलको प्रभाव कम छ । प्रदेश कमिटीमा उपसचिव नरबहादुर विक उनीनिकट हुन् ।

तर, पार्टी छाडेर नजाने उनले प्रदेश कमिटीका पदाधिकारीलाई बताइसकेका छन् । यस्तो अवस्थामा रावललको अभियानमा सबैभन्दा बढी एकीकृत समाजवादीका नेताहरू जोडिने आकलन गरिएको छ ।

एकीकृत समाजवादी सुदूरपश्चिम संसदीय दलका नेता दीर्घ सोडारी रावलसँग छलफल भएको र अब पनि हुने बताउँछन् । ‘नेकपाबाट एकीकृत समाजवादी बनाउने नै उहाँ हो,’ सोडारीले भने, ‘त्यसैले हामीले त उहाँलाई एकीकृत समाजवादीमा आएर नेतृत्व गर्न आग्रह गरेका थियौँ ।’ रावलले नयाँ पार्टी खोल्दा सुदूरपश्चिम मात्र नभएर देशभर नै एमाले र एकीकृत समाजवादीमा प्रभाव देखिने उनको भनाइ थियो ।

रावल एमालेमै भएका थिए निष्प्रभावी

एमालेदेखि नेकपा हुँदासम्म सुदूरपश्चिममा रावलको प्रभाव निकै बढी थियो । नवौँ महाधिवेशनमा लोकप्रिय मतसहित उनी उपाध्यक्षमा विजयी भएका थिए । २०७४ को चुनावताका एमालेको सुदूरपश्चिम इन्चार्ज पनि उपाध्यक्ष रावल नै थिए । प्रदेश इञ्चार्जको हैसियतमा प्रदेश र प्रतिनिधिसभाको टिकट वितरणमा रावलले मनोमानी गरेको आरोप अहिले पनि लाग्छ ।

 

एमालेदेखि नेकपा हुँदासम्म पनि सुदूरपश्चिम इञ्चार्ज थिए, उनी । तर, सर्वोच्च अदालतले नेकपाको नामबारे फैसला गर्दै एमाले र माओवादी केन्द्र ब्युँताइदियो । सर्वोच्च अदालतको फैसलापछि रावल माधव नेपालको पक्षमा लाग्दा एमाले अध्यक्ष केपी शर्मा ओलीले माओवादीबाट प्रवेश गरेका लेखराज भट्टलाई एमाले सुदूरपश्चिम इन्चार्ज बनाए । ओली पक्षका इञ्चार्ज भट्ट र माधव-झलनाथ पक्षका इञ्चार्ज रावललाई भनिन्थ्यो । ओलीले गरेको संसद विघटन बदर गरेपछि कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन माग गर्दै सर्वाेच्चमा रिट दायर गर्ने एमालेका २३ सांसदमध्ये एक थिए रावल ।

त्यो समयमा ओलीविरुद्व सबैभन्दा अग्रस्थानमा उभिएका रावल एमाले विभाजन भएर एकीकृत समाजवादी बन्दा माधव–झलनाथलाई पनि साथ दिएनन् । तर, उनी पक्षका सुदूरपश्चिमका सबै नेताहरू भने एकीकृत समाजवादीमा गए । सुदूरपश्चिम प्रदेशसभामा २५ जना एमालेका प्रदेशसभा सदस्य थिए । १८ जना रावल पक्षका थिए भने ओली समूहमा सात जना मात्रै । रावल एमालेमै रहे पनि उनी पक्षका १८ प्रदेशसभा सदस्यमध्ये १४ जनाले एमाले छोडेर एकीकृत समाजवादीमा सनाखत गरेका थिए । तत्कालीन मुख्यमन्त्री त्रिलोचन भट्टलाई विश्वासको मत नदिने एमालेको निर्णयविरुद्ध रावल पक्षका १७ सांसदले विश्वासको मत दिएका थिए ।

‘उहाँकै अगुवाइमा एकीकृत समाजवादी पार्टी खोलिएको थियो,’ तत्कालीन एक जना प्रदेशसभा सदस्यले भने, ‘हामी सबैलाई एमालेको निर्णयविरुद्व मुख्यमन्त्रीलाई विश्वासको मत दिन पनि उहाँले नै लगाउनुभयो । तर, अन्त्यमा हाम्रै साथ छोडेर उहाँ एमालेमै बस्नुभयो । अहिले उहाँ न हाम्रो हुनुभयो न त एमालेकै हुन सक्नुभयो ।’

 

 

ताजा समाचार