अत्तरिया, कैलालीको चुरे गाउँपालिकामा सुन्तला खेती मुख्य व्यवसायको रूपमा स्थापित हुँदै आएको छ। हालै मात्र चुरेबासीहरू उत्साहपूर्वक सुन्तला बिक्रीमा व्यस्त देखिएका छन्। यो सिजनमा किसानहरूले मनग्य आम्दानी गर्दै गाउँको आर्थिक अवस्था सुधार गर्न सफल भएका छन्।
गाउँपालिका अध्यक्ष चक्र बोगटीका अनुसार कृषि क्षेत्रलाई मुख्य प्राथमिकतामा राखेर किसानहरूलाई विभिन्न प्रकारका सहयोगहरू प्रदान गरिएका छन्। “किसानहरूको उत्पादन क्षमता वृद्धि गर्न अनुदान स्वरूप बोट बिरुवा, सिँचाइ कुलो, र सिँचाइका उपकरणहरू वितरण गरेका छौं,” अध्यक्ष बोगटीले भने।
स्थानीय किसानहरूले गाउँपालिकाको सहकार्य र अनुदानले आफूहरूको कृषि व्यवसायमा सकारात्मक प्रभाव परेको बताउँदै यो वर्षको उत्पादनले राम्रो मूल्य पाइरहेको खुशी व्यक्त गरेका छन्।
सुन्तला खेतीबाट प्राप्त आम्दानीले गाउँलेहरूको जीवनस्तर उकास्नुका साथै चुरे क्षेत्रको पहिचानसमेत स्थापित गरिरहेको छ। किसानहरूले सुन्तलाको प्रशोधन र निर्यातसम्बन्धी थप सुविधाहरू उपलब्ध गराउन सरकारसँग माग गरेका छन्।