अत्तरिया,कैलाली जिल्लाको गाेदावरी नगरपालिका वडा नं. ३ खमैरा घर भएका सिद्धराज पनेरु, जसलाई स्थानीयस्तरमा “पनेरु बाजे” का नामले चिनिन्छ, अत्तरिया बजारको रिङरोडस्थित चिया पसलका लागि प्रख्यात छन्। २० वर्षदेखि निरन्तर रूपमा चिया पसल सञ्चालन गर्दै आएका पनेरु बाजे बिहान ५ बजे झन्डै ४ किलोमिटर टाढाबाट पसल खोल्न अत्तरिया पुग्ने गर्छन्।
उनको चियाको स्वाद मात्रै नभई सरल र घरायसी शैलीमा पकाउने तरिकाले पनि ग्राहकहरूको मन जितेको छ। गाेदावरीका बाह्रै वडाका मानिसहरू, अत्तरिया पुगेपछि, पनेरु बाजेको चिया पिउने रुचि राख्छन्। चिसो हिउँदमा पनि नियमित रूपमा बिहानै चिया पिउने ग्राहकहरूको भिड लाग्ने गर्दछ।
६२ वर्षका पनेरु बाजेका लागि यो चिया पसल केवल आम्दानीको स्रोत नभई परिवार चलाउने मुख्य आधार बनेको छ। “दैनिक रूपमा १५० देखि २०० कप चिया बेच्दै आएको छु। यसले हाम्रो परिवारको घर खर्च सहजै धान्न सहयोग गरेको छ,” उनले भने।
पनेरु बाजेको चिया पसलमा न केवल स्थानीय ग्राहकहरू तर पहाडी क्षेत्रका मानिसहरू पनि चिया पिउन आउने गरेका हुन्छन् । उनका नियमित ग्राहकहरूका अनुसार, चियाको स्वादिलोपन, सरल व्यवहार र समयपालन उनले पसललाई विशेष बनाउने प्रमुख दायित्व रहेको छ।
२० वर्षे अनुभव र सेवाले पनेरु बाजेको चिया पसल केवल व्यवसाय नभई अत्तरियाको पहिचान बनेको छ। ग्राहकहरूको शुभेच्छा र माया पाएको यस पसलले आगामी वर्षहरूमा पनि उत्तिकै लोकप्रियता कायम गर्ने विश्वास गरिएको छ।