एकेन्द्र ‘अछामी’ खड्का – छ महिना अघि छ दशक देखिको बाँकी रहेको एउटा काम गर्ने भनेर तीन जना बुवाहरु सहित हामी अछाम गएका थियौँ। काम त्यस्तो ठुलो त हैन, तर मनोवैज्ञानिक रूपमा त्यो ठुलै काम बनिसकेको थियो। त्यो भन्दा ठुलो त हामी गरिखाने वर्गका लागी परिवारका आवश्यक सबै सदस्यहरूले एकै समयमा बिदा मिलाउन सक्नु र त्यो दिन शुभ पर्नु रहेछ। हैन भने यो काम पाँच वर्ष अघि नै सकिन पर्ने थियो। आ- आफ्नो कामबाट एक समयमा बिदा मिलाएर कैलाली जम्मा हुनु, कैलालीबाट अछाम, अछामबाट हरिद्वार र हरिद्वारबाट कैलाली पुग्नु हाम्रा लागि ठुलै काम रह्यो।

६ दशक अघि दसैँ पूर्व घर छिप्नका लागि १५-१६ वर्षकी फु-बज्यै (हजुरबाको बहिनी) रातो माटो लिन घर भन्दा केही पर जंगलछेउको माटी खड्यान (माटो झिक्ने खाडल) जानू भएको रहेछ। बिहेको लागि इष्टमित्रलाई हात दिई सकेकी फु-बज्यै बिहे पूर्व नै माटी खड्यानमा पुरिनु भो।
केही समयपछि गाउँलेहरु गएर माटीखड्यानबाट लास झिकेर ल्याएछन्। बिहे नभएको मानिसलाई गरिने मृत्यु पर्यन्तको संस्कार अनुसार माटोमा नै लास गाडेर सामान्य क्रिया पुर्याएर अन्त्येष्टि गरेछन्। कुरा यतिकैमा सकिन पर्ने हो। तर सकिएन। खासमा कसैलाई हात दिइसकेको कन्याको मृत्यु संस्कार अलि फरक रहेछ जुन पुगेन। पूरा गरिएन। त्यहीँ नपुगेको संस्कारले छ दशक सम्म हाम्रो परिवारमा विभिन्न बाधा अड्चन आइरह्यो रे। ज्योतिषी र हेराउने धामी झाँक्रीका अनुसार यसले हाम्रो सबै परिवारका कन्याहरूमा केही न केही दोष देखाइ रह्र्यो। र अन्ततः कुशको लास बनाएर पुनः पहिले त्रुटि भएको संस्कारमा सुधार गरेर सम्पूर्ण मृत्युपछिको संस्कार पूरा गरी थप अन्य पितृहरूलाई हरिद्वार पुर्यायौं।

खासमा मैले दसैँको कुरा गर्न पर्ने।
घर छिप्ने कुरा गर्न पर्ने।
किन मृत्यु संस्कारको कुरा गर्दैछु लागेको होला!
यो घटना पनि दसैँकै सेरोफेरोमा घर छिप्नको लागि माटो लिन जाने क्रममा भएको भएर सम्झिएँ। सहरका लागि यो घटना एकदेशको कहानी जस्तै भए पनि कति ग्रामीण भेगमा अझ पनि यो प्रक्रिया चलिरहेको छ।
दसैँकै सेरोफेरोमा विभिन्न सञ्चार माध्यमबाट समाचारमा सुन्न पाइन्छ, कि घर पोत्ने माटो लिन गएका कयौँ व्यक्तिहरु माटोको ढिस्कोमा पुरिएर मृत्यु भएको खबर। हरेक वर्ष ग्रामीण भेगका मानिसहरू अझै पनि रातो, सेतो तथा घर लिप्ने माटो लिन जाँदा माटोकै ढिस्कोमा पुरिएको समाचार सुन्नमा आइरहन्छ। ग्रामीण भेगका मानिसहरूको लागि यो आवश्यकता हो, तर यसमा जोखिम पनि उत्तिकै छ। यो आवश्यकतालाई स्थानीय सरकार अथवा अन्य निकायले सहजीकरण गरेर सहज रूपमा माटो झिकेर उपलब्ध गराइदिए, धेरै माटोले घर लिप्ने अनि छिप्नेहरूको दसैँ अझ सहज हुने थियो।

२०५४ सालमा पहाडमा ढुङ्गा र माटोले बनेको घर छोडेर हामी तराईमा माटो र काठले बनेको घरमा सर्यौ। ढुङ्गाको नाममा त्यो घरमा ओख्लो र लोंणो (सिलौटा) मात्रै थिए। सानो सुख्खा खोला छेउको गरामा महिनावारी भएर गाउँबाट पर सरेर बसे झैँ सानो घर। भुइँतलामा बिचमा बार नहाली धुरी खम्बाले छुट्याएका दुई कोठा। कोठामा एका पट्टी पाँण, काठको खम्बासँगै दलान, कडी र काठकै भित्ताको वरिपरि माटोले लिपेको। छानो पनि माटोकै टायलले छाएको। खासै काठ नदेखिएको घरलाई माटोले नै सुरक्षा प्रदान गरी सुन्दरता दिएको।
लाग्थ्यो, घरको काठ अस्थिपञ्जर प्रणाली हो र माटो मांसपेशी प्रणाली। अब यसमा हाम्रो परिवारको प्रवेशले श्वासप्रश्वास, मस्तिष्क र अन्य बाँकी रहेका प्रणाली थप्नेछ र जीवित बनाउने छ यो घरलाई।
हामी आउनु पूर्व नै गाउँले केही पुरुष काका हजुर-बुवाहरुले सामान्य भाँचिएका हाड जोर्नी जोडेनछ महिला आमा दिदीबहिनीहरूले हाड जोर्नी बाहिरबाट कम भएको ठाउँमा मांसपेशी थपेर प्लास्टर गरेछन् हामी आउँदा सानो घर तन्दुरुस्त थियो।

कवि शिरोमणि लेखनाथ पौडेलले दसैँ कवितामा भने झैँ दसैँ आउँदा हिलो मैला हट्ने र पानीको वर्षा हराउने मात्रै हैन। खेतमा कोदो फुल्ने र धानका बाला झुल्ने पनि हो। निलो कञ्चन आकाशमा रङ्गीचङ्गी चङ्गा उड्नु, ठाउँ ठाउँमा पिङ हालिनु र बिहान बेलुका शरदको चिसो हावाले न्यानो स्वागत गर्दा पनि थाहा हुन्छ दसैँ आएको।
ग्रामीण गाउँमा दसैँ आउँदा यतिले मात्र पुग्दैन। सबै घर वरपरको वातावरण सफा गरी घरलाई सेतो र रातो माटोले छिपेर चिटिक्क पारे पछि आउँछ दसैँ तिहार।
बदलिँदो जीवनशैली र विलासी आवश्यकतासँगै अचेल सहरको दसैँ नि गाउँ छिरेको छ। ग्रामीण भेगका काठ र माटोका घर कङ्क्रिटका हुँदै छन्। जसमा ५ वर्ष सम्मको वारेन्टी भएको जापनिज कम्पनीको एसियन र नेरोलिक पेन्ट लाग्छ।
केही दशक अघि सम्म दसैँ अघि घरमा खेतबारीको काम भ्याइ नभ्याई त्यसमाथि मौसमको टुङ्गो नहुने। कहिले पानी परेर खेतमा पाकिसकेको धान बाली काट्न नपाइने। कहिले काटी सकेको धान बाली भित्र्याउन नपाउँदै खेतमै भिजेर धान पुनः उम्रन थाल्थ्यो। केही वर्ष त हामीले वर्ष भरी खेतमै भिजेको धानको भात खायौँ। खेतबारीको मुख्य कामलाई प्राथमिकतामा राखेर हामी सेतो र रातो माटो कोर्न कैलाली जिल्लाकै उत्तर तर्फको पहाड चढ्थ्यौ।

हाम्रो घरको उत्तर पूर्व तिर खमौरा भन्दा माथि तिरको पहाडमा सेतो माटो पाइन्थ्यो। दुरीका हिसाबले मध्यम नै थियो। बिहान पाँच बजे हिँड्यो भने नौ बजे माटो झिक्ने ठाउँमा पुगेर दिउँसो तीन बजे सम्म घर पुगिन्थ्यो। बिहानको नास्ता घरमै खान्थ्यौ। खानाको लागि भने घरबाटै रोटीसँगै तीलको चटनी लगेर जानु पर्ने।
अघिल्लो रात सल्लाह गरेर सकेसम्म एउटै घरमा बास बस्ने। बिहान सबेरै सबैसँगै जान, माटो कोर्ने ठाउँमा केही अग्रज सिपालुले भित्र ओडारमा छिरेर माटो कोर्न, केहीले बोरा/कट्ठामा भर्ने, केहीले कट्ठाको मुख बाँधेर ओडारबाट बाहिर सार्न र केहीले बाहिर सारेको माटो, पहाडको त्यो अग्लो ठाँउबाट तल तराईको सिरानमा झार्न पर्थ्यो।
सबैका लागि माटो भरी सके सकेपछि अलि तल चौरमा झरेर पानीको स्रोत भए नजिक बसेर आफ्नो रोटीको पोको झिकेर तीलको चटनी बाँडेर खान्थेम। बाटोमा दौँतरीसँग हुने गफगाफ, अलि अग्रजबाट सुन्न मिल्ने कथा, उहाँहरूका जीवनका अनुभव, विभिन्न घटनाहरूका किस्साले लाग्थ्यो त्यो दिन पनि विद्यालयको एक सेमिनार सहितको परियोजना कार्य हो। वर्षमा एक दुई पल्ट व्यक्तिगत प्रयोजनका लागि हुने सामूहिक कामले दसैँ अघि छुट्टै आनन्द र उत्साह दिन्थ्यो।

रातो माटोको कथा।
गाउँ घरमा सेतो र रातो माटोले छिपेको घर देख्नु भएकै होला। पाखे घरको झ्यालभन्दा माथि पट्टी कमेरो यानकी सेतो माटो। झ्याल भन्दा मुनि रातो माटो। घरको लगभग तीन चौथाइ सेतो माटोले र एक चौथाइ रातो माटोले छिपेको। अनि पाखोमा नि रातै रङ्गको टायल।
रातो माटो थोरै अनि घरको तल्लो भित्तामा सेतो माटो धेरै अनि माथिल्लो भित्तामा किन छिप्छ्न् भन्ने जिज्ञासाको मैले धेरै पछि अड्कल काटे। व्यवहारिक कारण चाहिँ सेतो माटो नजिक पाइने र धेरै खर्च हुने भएर घरमा धेरै लगाएको र रातो माटो टाढा पाइने भएर थोरै लगाको हुन पर्छ। अर्को अनुमान सेतो भित्ता सजिलै फोहोर हुने अथवा दाग लाग्ने र रातो माटोमा खासै दाग अथवा फोहरको असर कम गर्ने भएर घरको तल्लो भित्तामा छिपेको हुनपर्छ। जहाँ बालबालिका छोइ रहन्छन् अनि केरकार गरी रहन्छन्। अर्को कारण घरको भुईँमा नियमित खैरो अथवा रातो सुहाउँदो माटोको र प्रयोग हुने भएर रातो माटोले तल्लो भित्ताको भाग रोजेको हुन सक्छ।

यसको पछाडि कुनै वैज्ञानिक कारण छ छैन थाहा पाउन सकिन तर मेरो मगजले हुनसक्छ रातो माटोमा त्यस्तो कुनै रसायन छ जसले विषालु किरा फटयांग्रा घरको भित्तामा चड्न निरुत्साहित गर्छ। सेतो रङ्गमा किरा, कमिला आकर्षण हुने र रातो माटोमा खासै किरा कमिला आकर्षक नहुने र यसले पनि घरलाई सुरक्षा प्रदान गर्ने भएर रातो माटो घरको पिँधमा छिपेको हुनसक्छ।
रातो माटो कम लाग्ने भएर होला एक वर्ष माटो लिन गएका व्यक्ति अरू दुई वर्षको लागी माटो भण्डार गरी राखी राख्थे र थप २ वर्ष त्यहीँ माटोले पुर्याउथे। हाम्रो घर सानो थियो प्राय: रातो माटो अरूबाट थोरै मागेर चलाउँथ्यौ। केही वर्ष आन्टी, एक पल्ट दिदी र त्यसपछि एक पल्ट म गएपछि रातो माटो लिने काम सधैँका लागि बन्द भयो।
घरका लागि रातो माटो लिन जानू जो केहीको वशको कुरा थिएन। घरको अलि बलियो, हिम्मतिलो र सहनशील क्षमता भएको व्यक्ति मात्रै जानका लागि योग्य ठहरिन्थे। बाटोको दुरी, जङ्गल, नदी, बगर, अनि अग्लो पहाडको टोपी खस्ने उकालो। जाने जो कोहीले एउटा साहसिक यात्रा तय गर्न पर्ने हुन्थ्यो।

रातोमाटो लिन ओलानी हुँदै मालुबेला भएर मछेली नदीको विशाल बगर सँगै नदी कटेर उत्तर पट्टीमा भएको उही महाभारत पर्वत शृङ्खलाको अलि परै पश्चिम गएर पहाड चड्नु पर्थ्यो। रातो माटो लिन जानको लागि लामो दुरी भएकै कारण प्रायः व्यक्तिहरू अघिल्लो दिन बेलुका नै खाना र नास्ताको सरदाम बोकेर ओलानी आफ्ना आफन्त कहाँ बस्थे। बिहान सबेरै उठेर खाना नास्ताको पकाएर हिँड्न सुरु गर्थे र बेलुका उज्यालो हुँदै घर पुग्थे। ओलानी बास नबस्नेहरू अघिल्लो दिन नै बेलुकाको खाना खाएर एउटै घरमा बास बस्थे बेलुका राती नै रोटी पकाएर बिहान चटनी मात्रै पिसेर सबेरै अँध्यारोमा टर्च लाइट बाली गन्तव्यमा लाग्थे।
२०६१ साल कक्षा नौ मा पढ्दा हो मैले पहिलो पटक त्यो स साहसिक यात्रा तय गरेको। हामी भन्दा अग्रज व्यक्तिहरू हिँडेर जाने म लगायत मेरा केही दौँतरी साइकलमा जाने भयौँ। साइकल मालबेला सम्म मात्रै जान्थ्यो। मालबेला पर पर त साइकलले मान्छेलाई हैन मान्छेले साइकललाई बोक्न पर्थ्यो। मुख्य बाधक त मछेलीको बगर रहेछ। तसर्थ बिस्तारै साइकल बिग्रेपछि अर्को समस्या आइपर्ने भएर हिँड्ने व्यक्तिहरूसँगै साइकल बिस्तारै चलाउँदै मालुबेला जङ्गल नजिक घरमा साइकल राखेर र त्यहाँबाट बल्ल म लगायत केही दौँतरीको हिँडाइ बल्ल सुरु भयो।

जङ्गल यात्रा कस्तो हुन्छ भन्ने कुरा सानोमा बस्तुभाउ चराउन जाँदा त गरेकै थिएँ यो यात्रा अलि विशेष रह्र्यो। मछेली कटेपछि जङ्गलको बिच तिर बाटोमा वनदेवीको थान थियो। मानिसहरूले तलमाथिबाट बिरुवाको पात टिपेर वनदेवीको थान चढाउँथे। हात जोडेर एक फन्को परिक्रमा गरी आशिष् मागेर अघि बढ्थे।
वनदेवी पूजा नगरी अघि बढे वनदेवी रिसाउने । यात्रा असहज हुने र वनदेवीलाई पूजा गरी खुसी पारे यात्रा सहज हुने जनविश्वास पनि नियम जस्तै थियो। सबैले फूलपाती चढाएर परिक्रमा गर्नै पर्ने।
वनदेवीको थानबाट केही तेर्सोबाटो पश्चिम हिँडेपछि दायाँ तिर माथि पहाड चढ्ने ठाडो बाटो। केही बेर पहाड चढेपछि आउँथ्यो माटी खड्यान यानेकि माटो कोर्ने ठाउँ। जहाँ ठुलो ओडार जस्तो कालो तेर्सो खाडल। खाडल प्रवेश गर्ने ठाउँमा गोलो गेट जस्तो भाग। प्रवेशद्वारमा एक छिन उभिएर हेर। ठुलो ओडारको भित्र ठाउँमा टर्च देखाउने र माटो खन्ने अनि माटो भर्ने समूह। मानिसहरू टर्च लाइट बालेर बाउसोले माटो खनिरहेका एक छिन छेउमा उभिएर हेरेँ । पहिलो पटक देखेको यो दृश्यले मन तानिरह्यो। एक छिनमै आँखा त्यो विशाल खाडलको माथिपट्टि गए। यो माथि पट्टीको माटो कसरी रोकिएको होला? मनमा अनेकौँ कुराहरू खेल्न थाले। म माथि पट्टी हेरेर टोलाएरै उभिएँ।

म पुग्नु अघि हाम्रो समूहका पनि केही व्यक्तिहरू खाडल भित्र पसेर आफ्नो कुना छुट्याएर माटो खनी रहेका रहेछन् । भित्रबाट तेर्सो पारेको कट्टामा माटो लिएर एउटा दिदी आउनु भयो। “ला तेरो कट्टा छोड” भन्नुभयो। मैले कट्टा थापेँ र उहाँले माटो खन्याउनु भयो। कति बोक्न सक्छौँ त्यति भरेर मुख बाँध्न भन्नू भयो। क्रमशः अरू ३ जनाले भित्र खनेको थोरै थोरै माटो बाहिर राखेका कट्टामा खन्याउनु भयो केही व्यक्तिले टर्च लगाउनु भो र केही व्यक्तिले पालैपालो खन्नु मात्रै भयो ।
सबैका कट्टा भरिएपछि सबैले आ-आफ्ना कट्टा दुई हातले उचालेर बोक्न सक्ने नसक्ने जाँंच्नु भयो।
पहिलो पटक भारी बोकेर फर्किदा यहीँ बाटोमा हो मेरो खुट्टा काँपेको। माटोको भारी र आफ्नो कमजोरी भन्दा नि डरले बढी गोडा काँपे जस्तो लाग्यो।
बाटोमा गफ गर्दै ठाउँबाट गल्यै मार्दै अनि भारी बिसाउँदै आइयो। बाटोमा कसैको कट्टाको भारी भारी हुँदा सक्नेको कट्टामा माटो थपिन्थ्यो । भोक र प्यासले व्याकुल भएको बेला खानी पानीको स्रोत नजिकै सबैसँगै बसेर आफू आफूले लगेको खाना खानुको आनन्द त अहिले कहाँ रेस्टुरेन्टको लन्चमा भेटिनु !

मछेली वारि सम्म माटोको भारी भारी भए पनि कसैलाई भारी भारी भयो भनिन। किनकि मछेलीको बगर कटेपछि मालबेला जङ्गल नजिकको घरमा मेरो साइकल थियो।
केही साइकल भएका दौँतरी त्यहीँबाट साइकलको क्यारिङमा माटोको कट्टा बाँधेर साइकल चलाएर अघि आउने भयौँ। केही अग्रज आमा दिदी काकीहरू हिन्दै भारी बोकेर आउने भएँ। गाउँका दुई जना दाइ र एउटा दिदी तीन जनाकै भारी बोकेर साइकल डोर्याएर आउने भए।
सुरुमा हामी साइकल चलाएर आउने साथीहरूको समूह त्यसपछि साइकल धकेलेर आउने दिदी दाइहरूको समूह अन्तिममा पिठ्युँमा माटोको भारी बोकेर आउने समूह ।
साइकल चलाएर आउने समूह ४:३० बजेतिर घर पुग्यौँ ।
पिठ्युँमा भारी बोक्दै आउने समूह ६:३० बजे तिर घर पुग्यो।

साइकल धकेलेर आउने दिदी दाइहरूको समूह ७:३० बजे सम्म नि घर आइपुगेन। ८ बजेतिर एक जना दाइको आमा हाम्रो घरमा सोध्न आउनु भयो । हामी जे जसरी आउदैथे त्यहीँ जानकारी गर्यौँ। दोस्रो दिन बिहान थाहा भयो दिदी राती ९:३० बजे पुगेछ दिदी दाइहरूको समूह। साइकलमा भारीको तौल बढी भएर होला केही बेर तल आएपछि साइकलको रिङ नै बाङियो रे। रिङ्ग बाङिएको साइकलमा भारी बोक्ने कुरै भएन। पछि सबै जनाले आ आफ्नो भारी पुनः पिठ्युँमा बोकेर रिङ्ग बाङिएर गुडाउनै गाह्रो भएको साइकल धकेल्दै ल्याएछन्। जङ्गल नजिकको गाउँमा साइकल बनाउने पसल थिएन। साइकल बनाउने पसल खोज्न भेट्न पनि भारी बोक्दै साइकल ओलानी सम्म धकेल्न पर्यो । ओलानीमा बडा मुस्किलले बन्द पसल भेट्टिएछ। त्यो भन्दा मुस्किलले साइकल बनाउने मिस्री।

साइकल बनाएर एक भारी माटो साइकलमा डोर्याउँदै र बाँकी दुई भारी माटो पिठ्युँमा लाएर बल्लतल्ल घर पुगेनछ।
त्यो समय माटो लिन जाँदाको रमाइलो त थियो नै उस्तै दुःख र जोखिम पनि थियो। पहिलो गाउँमा जुन हर्ष उल्लासका साथ दसैँ आउँथ्यो त्यो दसैँ अहिले नि आउँछ तर त्यो हर्ष उल्लास प्रायः आउँछ।
– एकेन्द्र ‘अछामी’ खड्का