अत्तरिया : ‘विगत हेर्दा आकाश–जमिनको फरक भैहाल्यो । यति फड्को मार्छ भन्ने लागेको थिएन’ टीकादत्तले हिजोको अत्तरिया बजारसँग तुलना गर्दै भने, ‘त्यो बेला अत्तरिया एउटा सानो चोक मात्रै थियो, विकासले गतिलियो बल्ल बजार बन्यो ।’ गोदावरी नगरपालिका–४ बसन्तपुरका टीकादत्त जोशी (६८) कुनै बेलाको सानो चोक ठूलो बजारका रूपमा विकास भएको देखेर आफैं दंग पर्छन् । विकास क्रमिक हुने प्रक्रिया हो भन्ने लागे पनि जोशीले अत्तरियाको काँचुली यति चाँडै फेरिएला भन्ने कल्पना समेत गरेका थिएनन् तर आँखै अगाडि आफ्नै जीवनकालमा परिवर्तन भएको देख्दा उनी हर्षित छन् ।
गोदावरी नगरपालिका–१ का धर्मराज भट्ट (६०) पनि आँखै अगाडि भएको विकास देखेर खुसी व्यक्त गर्छन् । सडक पूर्वाधार अत्तरिया बजार विकासको प्रमुख आधार भएको बताउने भट्टका भनाइमा २०२१ को दशकदेखि यो क्षेत्रमा बस्ती बस्न थालेको थियो । केही मान्छेले त्योभन्दा अघि नै यो ठाउँमा आएर खेतीपाती थाले पनि २०२१–२०२३ को बीचमा यहाँ बसोबास गर्ने क्रम वृद्धि हुँदै गएको उनी बताउँछन् । पूर्व–पश्चिम र उत्तर–दक्षिण राजमार्गको विस्तार नै अत्तरियाको छलाङको प्रमुख आधार भएको भट्टको बुझाइ छ ।
यसरी फेरियो अत्तरिया
कुनै बेला सानो चोकमा सीमित अत्तरिया बजारको मुहार रातारात फेरिएको भने होइन । यसमा विभिन्न पक्षको भूमिका छ । यो कुरामा सुदूरपश्चिम प्रदेशलाई काठमाडौंसँग जोड्ने कर्णाली पुल, नगर विकासको अवधारणा, बढ्दो बसाइँसराइ र शहरीकरण जस्ता पक्ष जोडिएका छन् । गोदावरी नगरपालिका–२ का गोकर्ण भट्ट सुदूरपश्चिम राज्यसँगको मूलप्रवाहमा नजोडिएका कारण ५० को दशकसम्म आइपुग्दा पनि विकासका दृष्टिले निकै पछि रहेकोमा दुईमत नभएको बताउँछन् । तर जब २०५० सालमा कर्णाली नदीमाथि पुल बन्यो, त्यो यहाँको विकासको पहिलो खुड्किलो भएको भट्टले बताए ।
‘२०५० सालमा मूलतः कर्णाली नदीमा पुल बनेदेखि मात्र अत्तरिया क्षेत्रको विकास भएको हो । त्योभन्दा अघि राज्यको मूलप्रवाहमा जोडिएको थिएन’ भट्ट भन्छन्, ‘पहिलो खुड्किलो नै कर्णाली पुल हो । त्यसपछि नै बजार विस्तारले तीव्रता पाएको हो ।’ भट्टका अनुसार अत्तरियामा पहिलो पटक बसोबास गर्ने र जग्गा भोगचलन गर्नेमा डोटीको जोरायलकी लक्ष्मी देवी पन्तको परिवार थियो । पन्त परिवार यहाँको जमिनदार थियो । २०१९ सालमा उनका बुवा दशरथ भट्टले पनि पन्तकै परिवारबाटै चार सय रुपैयाँका दरले २१ बिघा जग्गा खरिद गरेका थिए ।
२०२१ सालमा भूमिसुधार लागू भएपछि मात्र यो क्षेत्रमा बस्ती बस्न थाल्यो । २०२८ सालमा पहाडमा विकराल भोकमरी भएपछि साविक मालाखेती गाविसमा पर्ने बजार क्षेत्र वरपर ठूलो संख्यामा मानिसहरू बसाइँ सरी आए । त्यो बेला उनीहरू जंगल फडानी गरेर बस्ती बसेका थिए । २०२१ सालमा खड्कबहादुर सिंह भूमिसुधार मन्त्री बनेपछि कैलाली र कञ्चनपुरमा जग्गाको नापी भएको थियो । हदबन्दीभन्दा बढी जग्गा आफ्ना नजिककाहरूको नाममा राख्ने उद्देश्यका साथ सरकारले सबै जग्गा जफत गरेको भट्ट स्मरण गर्छन् । तर सर्वोच्च अदालतमा परेको मुद्दाको फैसला भने नागरिकका पक्षमा आएको थियो ।
त्यसपछि एकपछि अर्को गर्दै डोटी, अछाम, बाजुरा, डडेल्धुरा लगायत जिल्लाबाट मानिसहरू बसोबास गर्न यो क्षेत्रमा झर्न थालेका थिए । अहिले यहाँ पूर्व झापादेखि पश्चिम दार्चुलासम्मका मानिसको बसोबास छ । तत्कालीन सरकारले २०४२ सालमा नगर विकास समितिको अवधारणा लागू गरेपछि अत्तरियाले स्वस्फूर्त र क्रमिक परिवर्तनको लय समात्यो । चारैतिर जंगलले घेरिएको अत्तरिया बजार त्यतिन्जेलसम्म पनि सानो चोकमै सीमित जस्तो थियो ।
२०२१ पछि विभिन्न जिल्लाबाट अत्तरिया बसाइँसराइ गर्ने क्रम बढे पनि सशस्त्र द्वन्द्वपछि मात्र विकासले गति लिएको भट्टको भनाइ छ । २०४०\४२ सालपछि मात्र यो क्षेत्रमा किराना पसल खोल्ने र खुद्रा सामान बिक्री गर्ने चलन सुरु भएको थियो । त्यसले नै विस्तारै ठूलो रूप लिन पुग्दा अहिले अत्तरिया ठूलो शहरका रूपमा विकास भएको छ ।
शान्ति प्रक्रियापछि अत्तरियाको विकासले थप तीव्रता पाएको भट्टको भनाइ छ । ‘२०६४ पछि भएको विकास लोभलाग्दो छ । उद्योगधन्दा, व्यापार, व्यवसाय र बस्ती विकासले त्यो पछि नै गति लिएको थियो’ भट्टले भने, ‘अहिले त यो ठाउँ सबैको रोजाइको केन्द्र बनेको छ । सुदूरपश्चिम मात्र होइन यहाँ ७७ वटै जिल्लाका मानिसको बसोबास छ ।’
नास्ता पसलबाट शुरु भएको बजार
साविक मालाखेती गाविसको प्रमुख बजार थियो– मालाखेती । मोहना नदीको छेउमै रहेको मालाखेती बजारमा अत्तरिया मात्र होइन, टाढा–टाढाबाट मानिसहरू दैनिक उपभोग्य सामानहरू किनमेल गर्न आउने गर्थे ।
त्यतिबेला अत्तरिया बजार अस्तित्वमै थिएन । प्रदेशका ७ पहाडी जिल्लालाई जोड्ने भीमदत्त पन्त राजमार्ग निर्माण भएर सञ्चालन भएका कारण अत्तरिया एउटा चोकका रूपमा विकास भइरहेको थियो । अत्तरियाको दुर्गा लक्ष्मी बहुमुखी क्याम्पसका पूर्व प्रमुख गिरिराज कडायत (५४) राजा महेन्द्रले पूर्वपश्चिम राजमार्ग विस्तारको काम अघि बढाएसँगै चोकमा सीमित अत्तरिया चौराहमा परिणत भएको बताउँछन् ।
‘पूर्व–पश्चिम राजमार्गको निर्माण अघि बढेपछि अत्तरिया चोकमा मजदूरहरूलाई खाना, खाजा खुवाउने गरी सानो नास्ता पसल खुलेको थियो’ कडायतले भने, ‘त्यो नास्ता पसल नै अत्तरियाको व्यापार, व्यवसायको पहिलो बिन्दु थियो जस्तो लाग्छ ।’ विस्तारै स–साना झुपडी बन्न थाले ।
कर्णाली पुलले पूर्व–पश्चिम राजमार्गलाई जोडेपछि प्रमुख चोकमा परिणत भएको अत्तरियाले विस्तारै पुरानो मालाखेती बजारलाई विस्थापित गरेको उनको भनाइ छ ।
२०४८ देखि २०७० सालसम्म दुर्गा लक्ष्मी बहुमुखी क्याम्पसमा अध्यापन गराउनेदेखि विस्तारको भूमिकामा रहेर काम गरेका कडायत अत्तरियाले फड्को मारेको धेरै वर्ष नभएको सुनाउँछन् । धेरै जसो मानिस २०५२–२०६२ को १० वर्षे सशस्त्र द्वन्द्वका समयमा तराई झरे पनि २०६३\६४ पछि मात्र परिवर्तन उन्मुख भएको उनले बताए ।
‘पहिले–पहिले एकदुई जना जमिनदार मात्र हुन्थे तर सशस्त्र द्वन्द्वको १० वर्षको अवधिमा पहाडका गाउँ–गाउँबाट मानिसहरू सुरक्षित ठानेर यो क्षेत्रमा आएर बसे’ कडायतले भने, ‘२०६२ सालपछि घरघडेरी खरिद–बिक्री गर्ने चलन चल्यो । त्यसपछि नै धेरै चहलपहल बढेको हो ।’ यो अवधिमा शिक्षा, स्वास्थ्य, सञ्चार, व्यापार र व्यवसायमा ठूलो परिवर्तन भएको छ । उनका भनाइमा अत्तरियाको परिवर्तनमा सडक पूर्वाधार, राजनीतिक रूपान्तरण, शिक्षाको विकास र नजिकैको सीमा क्षेत्रको महत्वपूर्ण भूमिका छ । अझ पूर्व–पश्चिम राजमार्ग सञ्चालनमा आएपछि सुदूरपश्चिम मात्र होइन देशभरका मानिसहरू यात्राका क्रममा कुनै न कुनै रूपमा अत्तरिया पुगेकै हुन्छन् ।
‘नजिकै सीमा क्षेत्र पर्छ । नेपाली रोजगारी, स्वास्थ्य उपचार जस्ता कामका लागि आउने–जाने गरिरहन्छन् । त्यो बेला यो बाटो बढी प्रयोग हुन्छ’ कडायतले सुनाए, ‘राजमार्ग बनेपछि सुदूरपश्चिमसँग देशको पूर्वी भू–भाग जोडियो ।’ अत्तरियामा शिक्षाको विकासका लागि अगुवाइ गर्नेमा जयप्रकाश पाण्डेको नाम आउँछ भने व्यापारको सुरुवात गर्ने व्यक्ति चित्रराज पनेरु थिए । तर पनेरुले सञ्चालनमा ल्याएको खाद्य मिल चलाउन नसकेपछि भद्रपुरबाट आएका जयप्रकाश मोहपालले सञ्चालन गरेका थिए । यहाँको व्यापार व्यवसायको प्रवद्र्धन गर्ने मध्येमा मोहपालकै नाम आउँछ । उनकै सिको गरेर धेरै जना व्यवसायमा हात हाल्न पुगे । त्यस्ता व्यक्तिले व्यक्तिगत रूपमा व्यावसायिक लाभ मात्र लिएका छैनन् कि यहाँको विकासमा पनि भूमिका खेलेका छन् ।
तीव्र बसाइँसराइ र बजारीकरण
बढ्दो शहरीकरण र बजारीकरणका कारण अत्तरिया क्षेत्रमा बसाइँसराइ गर्ने क्रममा समेत बढोत्तरी भएको छ । अत्तरिया अहिले साविकको मालाखेती गाविस, गेटा गाविस र गोदावरी गाविसको केही भाग सहित बनेको गोदावरी नगरपालिकामा पर्छ । पूर्व–पश्चिम राजमार्ग र भीमदत्त राजमार्गलाई पूर्व, पश्चिम, उत्तर, दक्षिण जोड्ने केन्द्रका रूपमा रहेको गोदावरीलाई नै सुदूरपश्चिम सरकारले २०७५ सालमा प्रदेश राजधानी घोषणा गरेपछि बसाइँ सरी आउने क्रमले थप तीव्रता पायो ।
पछिल्लो १० वर्षको तथ्यांक मात्र हेर्ने हो भने, अत्तरियाको जनसंख्या करीब दुई गुणाले वृद्धि हुँदा झण्डै पाँच गुणाले बजारीकरण बढेको छ । राष्ट्रिय तथ्यांक कार्यालयको तथ्यांक अनुसार २०६८ सालमा गोदावरी नगरपालिकामा १४ हजार ९१५ घरधुरी थिए । तर १० वर्षको अवधिमा मात्र अत्तरियामा झन्डै साढे ६ हजार घरधुरी थपिएका छन् । अर्थात् २०७८ सालसम्म आइपुग्दा त्यो संख्या बढेर २१ हजार २५० पुगेको देखिन्छ । जनसंख्या वृद्धिदर पनि लगभग त्यही अनुपातमा भइरहेको देखिएको छ ।
२०६८ मा ७८ हजारको आसपासमा रहेको जनसंख्या १० वर्षपछि बढेर ९८ हजार ७४६ पुगेको तथ्यांक राष्ट्रिय जनगणना २०७८ ले देखाएको छ । अर्थात् गोदावरी नगरपालिकाको जनसंख्या वृद्धिदर अनुपात २.२६ प्रतिशत छ । यो कुराले पनि अत्तरिया आम मानिसको रोजाइमा पर्न थालेको कुरा पुष्टि गर्छ । अत्तरिया उद्योग वाणिज्य संघका अध्यक्ष कल्यानसिंह बोहोराले पनि पछिल्लो १० वर्षमा मात्र बजार क्षेत्रको विस्तारले व्यापकता पाएको बताए । वाणिज्य संघको तथ्यांकमा १० वर्षअघि तीन सयको हाराहारीमा रहेका विभिन्न उद्योग तथा पसलको संख्यामा ह्वात्तै वृद्धि भएको छ ।
अहिले अत्तरिया बजार क्षेत्रमा व्यापारिक संस्था तथा फार्मको संख्या १७ सय भन्दा बढी नाघेको बोहोरा बताउँछन् । होटल व्यवसाय, किराना तथा फेन्सीको व्यापार गर्नेहरूको संख्या अरूको तुलनामा बढी छ । यो तथ्यांकले पनि अत्तरियाको व्यापार, व्यवसाय क्षेत्रले छोटो समयमा फड्को मारेको कुरा छर्लङ्ग हुन्छ । प्रदेश राजधानी, गेटा आँखा अस्पताल, गेटा मेडिकल कलेज, धनगढी विमानस्थल जस्ता महत्वपूर्ण क्षेत्र समेत गोदावरी नगरपालिकाभित्रै पर्छन् । यी क्षेत्रका कारण पनि यहाँको जनघनत्व, व्यापार, व्यवसाय तथा अन्य गतिविधि बढाउन भूमिका खेलेको छ ।
अत्तरियाको यतिविघ्न परिवर्तनका साक्षी धर्मराज भट्टकै शब्दमा, ‘चोक बजार भएको ठाउँ राम्रै होला भन्ने त थियो । तर अत्तरियाले यो विघ्न फड्को मार्ला भन्ने चाहिं लागेको थिएन ।’ अनलाईन खबरबाट साभार ।