अत्तरिया, पारिवारिक विपत्तिमा परेकी कलावती चौधरीको परिवारलाई गोदावरी नगरपालिकाका पूर्व नगरप्रमुख हरि सिह साउँद र युवा नेता भाेज जैगडीले खाद्यान्न एवम् नगद सहयोग गरेका छन् । आइतबार परेको आफ्नो जन्मदिनको अवसर पारी दुवै जनाले कलावतीको घरमै गएर उनलाई दाल, चामल, सोडा, स्याम्पु, नुन लगायतका सामग्री सहयोग गरेका हुन । यस्तै कलावतीलाई थप सहयोग होस भन्ने हेतुले केही आर्थिक पनि सहयोग गरिएको थियो । पूर्व नगरप्रमुख साउँदले सेहरीमा आर्थिक अवस्था कमजोर भएकी महिला रहेको भन्ने थाहा पाएपछि केही सहयोग गर्नुपर्छ भनेर जन्मदिनको अवसर पारेर उनलाई सहयोग गरिएको बताए । उनले जन्मदिनको अवसरमा अन्य फजुल खर्च गर्नुभन्दा दशैंको समयमा विपन्नका घरमा केही सहयोग होस भनेर सामग्री उपलब्ध गराइएको बताए । ‘यो दुखको अवस्थामा सबैले सानो सानो सहयोग ग¥यो भने पनि उहाँको परिवारको दशैँ राम्रो बन्न सक्छ भन्ने सोचेर हामीहरूले यो काम गरेका हौ’ उनले भने ‘दशैँको मुखमा समाजमा बसेका व्यक्तिहरूले एकले अर्कालाई सहयोग गर्नुपर्दछ भन्ने हाम्रो मान्यता हो ।’ उनले दुःख सबैलाई पर्ने भएकाले त्यो दुःखलाई सम्झेर मन कमजोर गर्नुको साटो आगामी दिनमा कसरी मेहनत परिश्रम गरेर अगाडी बढ्न सकिन्छ त्यतातिर ध्यान दिन आग्रह गरे । उनले कलावतीको छोराको विषयमा पनि आफूले गहन रूपमा बुझेर पहल गर्ने बताए । उनले आगामी दिनहरूमा पनि गोदावरी नगरक्षेत्रभित्र रहेका यस्ता व्यक्तिहरूलाई सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे । यस्तै युवा भाेज जैगडीले दुखीलाई सानो मल्हम दिन सकिन्छ कि भनेर राहत स्वरूप सामग्री दिइएको बताए । उनले पूर्व नगरप्रमुख साउँदकै आग्रहमा कलावतीको परिवारलाई सामग्री सहयोग गरिएको बताए । उनले तत्काल आफूले सक्दो सहयोग गरेको र आगामी दिनमा अझै अन्य स्थानबाट गर्न सकिने सहयोगका लागि सदैव कटिबद्ध रहने बताए । घरमै पुगेर सहयोग गरिदिएको भन्दै कलावतीले दुवै जनालाई धन्यवाद ज्ञापन गरिन । उनले आजसम्म कसैले पनि आफ्नो परिवारलाई सहयोग नगरेको बताइन् । ‘म धेरै खुसी छु, आजसम्म मेरो घरमा कसैले सहयोग गरेको थिएन । उहाँहरू आउनुभयो, सहयोग गर्नुभयो, मेरो अवस्थाको बारेमा समेत बुझ्नुभयो’ कलावतीले रुदै भनिन् ।