अत्तरिया, कैलालीको गोदावरी नगरपालिकास्थित एक सामुदायिक वनकी अध्यक्षले एकलौटी निर्णय गर्न थालेपछि ११ जना पदाधिकारीले सामुहिक रुपमा राजीनामा दिएका छन्।
जिल्लाको गोदावरी नगरपालिका–४ मा रहेको श्री बासकोटा सामुदायिक वन उभोक्ता समुहकी अध्यक्षले आफुअनुकुल निर्णय गर्न थालेपछि ११ जना पदाधिकारीले सामुहिक रुपमा राजीनामा दिएका हुन्। अध्यक्ष कृष्णादेवी जोशीले आफुअनुकुल निर्णय गर्न थालेपछि उपाध्यक्षसहित कार्यसमितिका सबै सदस्यले पदबाट राजीनामा दिएका छन्।
अध्यक्षले मनोमानी रुपमा काठ कटानीदेखि ढूवानीसम्मै मनोमानी गरेको आरोप पदाधिकारीको छ। अध्यक्ष जोशीले आफ्नै छोरा शिवराज जोशीलाई काठ कटानीको ठेक्का समेत दिएकी छन्। यो कुरा अध्यक्ष जोशी आफैले स्वीकार गरेकी छन्। त्यस्तै वन क्षेत्रबाट निर्णयविपरीत गिट्टी उठाउने, एक अर्काबिच विवाद सिर्जना गराउने लगायत कारण आफुहरुले पदबाट सामुहिक रुपमा राजीनामा दिएको सचिव टेकबहादुर खड्काले बताए।