धनगढी, कैलालीको धनगढीबाट प्रसारणमा रहेको दिनेश एफएममा कार्यरत कैलाश थापाको सवारी दुर्घटनामा निधन भएको छ। एफएमको बजार व्यवस्थापन शाखामा कार्यरत थापाको शनिवार राति सवारी दुर्घटनामा निधन भएको हो। उनी २ वर्षदेखि एफएमको बजार व्यवस्थापन शाखामा काम गर्दै आएका थिए।
जिल्ला प्रहरी कार्यालय, कैलालीका अनुसार शनिवार राति १ बजेर १० मिनेटमा गोदावरी नगरपालिका–१ पाठक पेट्रोल पप्म नजिक उनी सवार से ५ प ५८२७ नम्बरको मोटरसाइकल रोकिएको ट्रकमा ठोकिएको हो।
धनगढी उपमहानगरपालिका–२ भन्सार रोडका २९ वर्षीय थापाले चलाएको मोटरसाइकल बझाङको बिच्थडचिर गाउँपालिका–२ का २४ वर्षीय भरत बोहराले चलागएको ना ४ ख ९६३ नम्बरको रोकिएको ट्रकमा ठोकिएको प्रहरीले बताएको छ। उनीहरु धनगढीबाट अत्तरिया तिर जाँदै थिए। प्रहरीले सेती प्रादेशिक अस्पतालमा पुर्याएका थापाको २ बजेर १० मिनेटमा चिकित्सकले मृत घोषणा गरेका हुन्।
मोटरसाइकलको पछाडी सवार धनगढी उपमहानगरपालिका २ भन्सार रोडका २५ वर्षीय भुपेश पाल घाइते भएका छन्। उनको अत्तरियास्थित पदमा अस्पतालमा उपचार हुँदैछ। थापाको शव पोस्टमार्टमका लागि सेती प्रादेशिक अस्पतालको शव गृहमा राखिएको छ। कैलाशकी एक दिदी छन्।