अत्तरिया, कैलालीको ईलाका प्रहरी कार्यालय मालाखेती अत्तरियाले ठुलो परिमाणमा लागुऔषध (चरेश) बरामद गरेको छ । आज गोदावरी नगरपालिका-२ तेघरी खानेपानी टोलबाट १६ किलो १८० ग्राम लागू औषध (चरेश) बरामद गरेको ईप्रका मालाखेतीले जनाएको छ ।
बझाङको बुंगल नगरपालिका-२ दहबगर मल्ली बत्थी घर भई हाल गोदावरी-२ तेघरी बस्ने ४५ बर्षिय मंगली देवी धामीको घरबाट लागुऔषध सहित उनलाई पक्राउ गरिएको ईप्रका मालाखेती अत्तरियाका प्रमुख प्रहरी नायव उपरिक्षक (डिएसपी) गंगा बहादुर थापाले बताएका छन् । उनले गोप्य सुचनाको आधारमा घरमा गई खानतलासी गर्दा उक्त मात्रामा लागुऔषध फेला परेको जानकारी दिए ।
धामीको घरमा लागु औषधको ओसार पसार तथा कारोवार भईरहेको छ भन्ने विशेष सुचनाको आधारमा ईप्रका बाट डिएसपी थापाको कमाण्डमा खटिएको प्रहरी टोलीले घरमा खानतलासी गर्ने क्रममा कोठा भित्र भुसामा लुकाएर बोरामा राखेको अवस्थामा फेला पारेको प्रहरीले जनाएको छ ।
प्रहरीले लागुऔषधसहित धामीको घरबाट नापतौल गर्ने तराजु पनि फेला पारेको छ। ईप्रका मालाखेतीले पहिलो पटक अहिले सम्मकै ठुलो परिमाणमा लागू औषध बरामद गरेको डिएसपी थापाले बताएका छन् ।
गत आर्थिक वर्षमा १३ किलोसम्म लागुऔषध समातेको र अहिले एकैपटक समातेको यो सबैभन्दा बढी भएको उनले बताए । उनले उक्त व्यक्ति लागुऔषधको कारोबारी भएको बताएका छन् ।
बरामद गरिएको सामग्री सहित धामीलाई पक्राउ गरी उक्त विषयमा थप अनुसन्धान भैरहेको डिएसपी थापाले बताएका छन् ।