धनगढी, जिल्ला अदालत कैलालीमा एक वर्षमा ७६८ जना सम्बन्ध विच्छेदका लागि पुगेका छन्।
जिल्ला अदालत कैलालीमा दर्ता हुने मुद्दाहरूमा सम्बन्ध विच्छेदका सबै भन्दा बढी रहेका हुन्। आर्थिक वर्ष २०८०/०८१ मा जिल्ला अदालतमा ७६८ मुद्दा सम्बन्ध विच्छेदका दर्ता भएका छन्। अदालतमा दर्ता भएका सम्बन्ध विच्छेदका मुद्दामा ५८६ मुदा फर्छ्यौट गरिएका छन्।
चालु आर्थिक वर्ष २०८१/०८२ का लागि १८२ मुद्दा जिम्मेवारी सरेर आएका छन्। जिल्ला अदालत कैलालीका स्रेस्तेदार मानबहादुर विष्टले सबै भन्दा बढी मुद्दा सम्बन्ध विच्छेदका दर्ता हुने गरेका बताए।
उनले भने, ‘कैलालीमा सबै भन्दा बढी मुद्दा सम्बन्ध विच्छेदका दर्ता भएका छन्। सम्बन्ध विच्छेदपछि लागुऔषधका मुद्दा बढी छन्। बैङ्किङ कसुर र चेक अनादरका मुद्दाहरू पनि धेरै छन्।’
जिल्ला अदालत कैलालीमा आर्थिक वर्ष २०८०/०८१ मा जम्मा २५८२ मुद्दा दर्ता भएकोमा ७६८ वटा सम्बन्ध विच्छेदका मुद्दाहरू रहेका छन्। जिल्ला अदालतले एक वर्षमा २९११ मुद्दा फर्छ्यौट गरेको छ। आर्थिक वर्ष २०७९/०८० बाट १५१२ मुद्दाको जिम्मेवारी सरेर आएका थिए।
२५८२ मुद्दा गत आर्थिक वर्षमा दर्ता भएका हुन्। गत आर्थिक वर्षमा मुद्दाको सङ्ख्या ४१९४ पुगेको थियो। चालु आर्थिक वर्ष २०८१/०८२ का लागि १२८३ मुद्दाको जिम्मेवारी सरेर आएका छन्। जिल्ला अदालत कैलालीमा चार जना न्यायाधीशको दरबन्दी रहेको छ। चार वटा इजलास रहेका छन्।
तर, मुद्गदाको सङ्ख्या धेरै हुने भएकाले सबै मुद्दा फर्छ्यौट हुने गरेका छैनन। विष्टले भने, ‘जिल्ला अदालतमा चार जना न्यायाधीशको दरबन्दी रहेको छ। चार जना न्यायाधीश छन। चार वटा इजलासबाट काम हुँदै आएको छ। तर, मुद्गदाको चाँप धेरै छ। अझै २ जना न्यायाधीशको खाँचो कैलालीमा छ।’