कैलाली , कर्णाली र सुदूरपश्चिम प्रदेशका एक दुई स्थानमा आज रातिदेखि ठूलो वर्षा हुने सम्भावना रहेको छ। । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार कर्णाली प्रदेशका एक/दुई ठाउँमा आज रातिदेखि पर्सि शुक्रवार रातिसम्म र सुदूरपश्चिम प्रदेशमा भोलि बिहानदेखि पर्सि बिहानसम्म ठूलो पानी पर्न सक्ने सम्भावना छ ।
महाशाखाका अनुसार अहिले देशभर मनसुनी वायुको प्रभाव छ । मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास छ । बागमती र गण्डकी प्रदेशका केही ठाउँ तथा बाँकी प्रदेशका एक/दुई ठाउँमा अहिले पनि हल्कादेखि मध्यम वर्षा भइरहेको छ । आज दिउँसो कोशी, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही ठाउँमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।
राति ठूलो पानी पर्न सक्ने अनुमान गरिएको क्षेत्रमा हुन सक्ने गेग्रान बहाव, बाढी, पहिराको जोखिमबाट जोगिन आवश्यक सतर्कता अपनाउन भनिएको छ । गएको २४ घण्टामा सिन्धुपाल्चोकमा सबैभन्दा धेरै पानी परेको छ । सिन्धुपाल्चोकको नवलपुरमा ७५ दशमलव २ मिलिमिटर वर्षा मापन भएको छ भने ढंगेमा ६१ मिलिमिटर वर्षा भएको छ