कैलालीको गोदावरी नगरपालिका – १० को कार्यालयमा तालाबन्दी।

कैलालीको गोदावरी नगरपालिका – १० को कार्यालयमा तालाबन्दी गरिएको छ ।

नगरपालिकाले गरेको विद्यालय समायोजनको विषयलाई लिएर असन्तुष्टि जनाउँदै आएका स्थानीयले वडा कार्यालयमा सोमबार तालाबन्दी गरेका हुन् ।

गोदावरी नगरपालिकाकाले २०८० फागुन ३० गते र नगर शिक्षा समितिले २०८१ जेठ ३२ गते वडा नम्बर १० को शंकर आधारभूत विद्यालयलाई घण्टेश्वर आधारभूत विद्यालयमा समायोजन गर्ने निर्णय गरेको थियो । उक्त निर्णय आफुलाई मान्य नहुने स्थानियको जिकिर रहेको छ ।

विद्यालय समायोजन नगर्न माग गर्दै विद्यालय व्यवस्थापन समितिका पूर्व अध्यक्ष रामदत्त भण्डारीले असार २८ गते सर्वोच्चमा रिट दायर गरेका थिए । उक्त रिटमाथि सर्वोच्चले असार ३१ गते अन्तरिम आदेश दिएको थियो ।

सर्वोच्च अदालतले नगरको उक्त निर्णयमा शिक्षा ऐन २०२८ को दफा १५, स्थानीय सरकार सञ्चालन ऐन २०७४ को दफा ८ समेतको प्रक्रिया र कार्यविधिको त्रुटि रहेको भन्दै निवेदनको टुङ्गो लाग्दा सम्म नगरपालिका र नगर शिक्षा समितिको निर्णय कार्यान्वयन नगर्न अन्तरिम आदेश दिएको थियोे ।

त्यसपछि स्थानीयले सर्वोच्चको आदेश बमोजिम विद्यालय तत्काल सञ्चालन गर्न माग गरेका थिए । उक्त आदेश कार्यान्वयन गर्न सम्बन्धित निकायले संकेत नदेखाएपछी तालाबन्दी गर्नुपरेको स्थानियले बताएका छन ।

 

ताजा समाचार