कैलालीको गोदावरीमा कान्जी हाउस भित्र सयभन्दा बढी गाईका कङ्काल फेला

अत्तरिया , कैलालीको गोदावरी नगरपालिका क्षेत्रमा निर्माण गरेको कान्जी हाउसमा गाईका कङ्काल फेला परेका छन्।

जिल्लाको गोदावरी नगरपालिका–९ भल्कामा गौ–संरक्षणका लागि निर्माण गरिएको ‘कान्जी हाउसमा’ सयभन्दा बढी गाईका कङ्काल फेला परेका हुन्। स्थानीयले आफ्नो बाली जोगाउन गाईलाई जङ्गलको बीचमा बनाइएको कान्जी हाउसमा लगेर बाँध्ने गरेका थिए।

त्यहाँ खाना, पानी नपाएर, चिसो तथा विभिन्न रोगका कारण ती गाई मरेको हुनसक्ने अनुमान गरिएको छ। वडा नम्बर ९ का अध्यक्ष रामलाल रानाले लक्ष्मी सामुदायिक वनमा गाई मरेका फेला परेका बताए।

उनले भने, ‘सामुदायिक वनले भावरमा कान्जी हाउस बनाएको छ। हेरालुहरू पनि छन्। गाउँबाट पराल उठाएर दिने हो। अहिले मरेका छैनन। तर, पुराना कङ्कालहरू छन्। चिसो, भोक र रोगले मरेका होलान।

हेरालुहरूले पनि भन्नु भएन।’ स्थानीयले त्यहाँ गाई लगेर बाँध्ने गरेका रहेछन्। उनका अनुसार बालीनाली सखाप पार्न थालेपछि स्थानीय आफैँले छाडा चौपायालाई उक्त स्थानमा लगेर थुन्ने गरेका थिए। स्थानीय सरकारले छाडा चौपाया व्यवस्थापनका लागि बजेट विनियोजन गर्दै आएका छन्।

तर, गोदावरी नगरपालिकाले सामुदायिक वनले निर्माण गरेको कान्जी हाउसमा कुनै लगानी नगरको वडाध्यक्ष रानाले बताए। उनले सामुदायिक वन र स्थानीयहरूले कान्जी हाउसको व्यवस्थापन गर्दै आएका बताए। गाई नेपालको राष्ट्रिय जनावर हो। तर, दुध दिन छोडेपछि गाईलाई बेवारिस्य जंगल तथा सडकहरूमा छोड्ने गरिएको छ।

 

ताजा समाचार