धनगढी, कैलालीको गोदावरी नगरपालिका–८ खुटिया नदीमा अबैध दोहन बढेको छ।

मनलाग्दी रुपमा नदीजन्य पदार्थको उत्खनन् भइरहेको स्थानीयको गुनासो छ। दैनिक रुपमा नदीजन्य पदार्थको अबैध उत्खनन् हुन थालेपछि नदी आसपासका वस्ती र निर्माण गरिएका भौतिक संरचनामा समेत क्षति पुग्ने अवस्था सिर्जना भएको छ। वातावरणीय प्रभाव मुल्यांकन (इआइए) विपरीत नदी आसपासका क्षेत्रबाट नदीजन्य पदार्थको उत्खनन् भइरहेको छ।

नदी किनारका वस्तीहरुमै असर पर्ने गरी नदीजन्य पदार्थको अबैध उत्खनन् भइरहेको नेकपा एमाले सुदूरपश्चिम प्रदेश कमिटि सदस्य एवम् गोदावरी नगर कमिटिका अध्यक्ष गोर्कण भट्टले बताए। उनले नगरपालिकाले मापदण्ड विपरीत नदीजन्य पदार्थ निकासी गरेको समेत आरोप लगाएका छन्।

त्यस्तै गोदावरी नगरपालिका–२ गोदावरीमा पनि नदीजन्य पदार्थको अबैध उत्खनन् बढेको नगर कमिटी अध्यक्ष भट्टले बताए। उनले भने, ‘नदीको नाम निसाना नै मेटाउने गरी उत्खनन् भइरहेको छ, गोदावरीमा सय फिटभन्दा पनि गहिरो खाल्डो परेको छ।’ नगर कमिटीले हिजो (शुक्रबार) खुटिया र आज (शनिबार) गोदावरी नदीको अनुगमन गरेको छ।
गोदावरी नगरपालिकाका संयोजक देवराज भट्टले भने नगरपालिकाले वातावरणीय प्रभाव मुल्यांकन (इआए) गरेको क्षेत्रबाट मात्र नदीजन्य पदार्थ सङ्कलन हुदै आएको दाबी गर्दै आएका छन्।