गोदावरी , कैलालीको गोदावरी नगरपालिकामा सव ओभरसियरबाट निष्कासित भीमबहादुर बोहराले पार्टी परित्याग गरेका छन् । गत पुस १ गते नगरपालिकाले जानकारी नै नदिई जागिरबाट निकालेकोमा पार्टीबाट सहयोग नपाएको भन्दै परित्याग गरेका हुन् ।
नेपाली काँग्रेस पार्टी कार्यालय कैलाली र नेपाल निजामति कर्मचारी युनियनलाई पत्र दिँदै उनले पार्टी परित्याग गरेको जानकारी दिए । उनले बुझाएको पत्रमा भनिएको छ –‘पार्टीले न्यायको पक्षमा बोल्ने नेता कार्यकर्तामाथि बलपूर्वक अन्यायको व्यवहार गर्नु र गरि खाने सामान्य मजदुरवर्गको हकहितका लागि काम गर्न नसक्नुले म स्वयमले नेपाली काँग्रेस परत्याग गरेको घोषणा गर्दछु ।’
उनले २०४६ सालदेखि नेपाली काँग्रेसको भातृ संगठन नेपाल विद्यार्थी संघमा आवद्ध भई विभिन्न जिम्मेवारीमा रही क्रियाशिल रहेको बताए । २०६६ सालदेखि नेपाल निजामति कर्मचारी युनियनमा आवद्ध भई सक्रियतापूर्वक पदीय जिम्मेवारी पुरा गरेको उनको भनाई छ ।
बोहराले २०६४ सालदेखि प्राविधिक सहायक पदमा करारमा नियूक्ति भइ नगरपालिकामा कार्यरत थिए । उनले भने –‘मैले १६ वर्षसम्म साविकको मालाखेती गाविस तथा हालको नगरपालिकामा ईमान्दारीपूर्ण ढंगले काम काज गर्दै आएकोमा
एका एक नगरपालिकाले मलाई जानकारी वा स्पष्टीकरणको मौका समेत नदिई पूर्वाग्रही ढंगले हाजिरी लगाउन नदिएको अवस्थामा कार्यालयमा बुझ्न जाँदा जागिरबाट हटाइएको प्रतिक्रिया आयो । योबारे पार्टीलाई जानकारी गराउँदा कुनै सुनुवाई भएन् । यसकारण यसको विकल्पमा पार्टी परित्याग गर्ने घोषणा गरेको हुँ ।’