विपिन जोशी गाजा क्षेत्रमा सकुशल रहेको पुष्टि

महेन्द्रनगर , प्यालेस्टिनी लडाकु समूह हमासले इजरायलमा पछिल्लो पटक गरेको आक्रमणपछि वेपत्ता भएका कञ्चनपुरका विपिन जोशी गाजाको एक अस्पतालमा सकुशल फेला परेको सूचना प्राप्त भएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

गाजा क्षेत्रमा थाइल्यान्डका नागरिकहरूसँगै विपिन पनि सुरक्षित अवस्थामा रहेको जानकारी परराष्ट्र मन्त्रालयलाई आएको हो । परराष्ट्र मन्त्रालयका अनुसार विपिन गाजाको हस्पिटलमा सकुशल रहेको जानकारी इजरायल सरकारले तेल अविवस्थित नेपाली दूतावासलाई जानकारी गराएको र नेपाली दूतावासले परराष्ट्र मन्त्रालयमा जानकारी गराएको थियो ।

परराष्ट्र मन्त्री एनपी साउदका स्वकीय सचिव दीपकराज जोशीले पनि विपिन गाजा क्षेत्रमा सकुशल फेला परेको जानकारी भरपर्दो स्रोतबाट प्राप्त भएको बताएका छन् ।  ‘हामीलाई प्राप्त भरपर्दो सूचनाअनुसार जोशीलगायत त्यहाँ रहेका थाई नागरिक एकदमै सकुशल छन् । सहज र सकुशल अवस्थामा उनीहरूलाई राखिएको भन्ने भरपर्दो जानकारी आएको छ,’ जोशीले भने ।

परराष्ट्रमन्त्री साउदले यसअघि कतारका विदेश राज्यमन्त्री मोहम्मद बिन अब्दुलाजिज बिन सलेह अल खुलैफीसँग टेलिफोन गरेर जोशीको मुक्तिका लागि प्रयास गरिदिन अनुरोध गरेका थिए । मध्यपूर्वको इरान, इजिप्ट, साउदी अरेबिया, कतारसँग हमास समूहको राम्रो सम्बन्ध छ । सरकारले मध्यपूर्वका यीलगायतका मुलुकसँग नेपाली विद्यार्थीको खोजीका लागि प्रयास गरेको छ ।

इजरायलमा २० असोजमा हमास समूहले गरेको हिंसात्मक हमलापछि रहेका १७ जनामध्ये बंकरमा सुरुमै हमासको आक्रमणमा परेका जोशीलाई आक्रमणकारीहरूले लिएर गएको जानकारी स्वदेश फर्केका विद्यार्थीले दिएका थिए ।

हमास समूहले गरेको ग्रिनेड आक्रमणमा बंकरभित्रै चारजना नेपाली विद्यार्थी घाइते भएका थिए भने १० जना नेपाली विद्यार्थीको निधन भएको थियो ।

 

ताजा समाचार