बैतडी, दशैंमा बैतडीमा १४ सवारी दुर्घटना भएका छन्। असाेज २८ गते घटस्थापनादेखि शनिबार काेजाग्रत पूर्णिमासम्म १४ सवारी दुर्घटना भएका हुन्।
दुर्घटनामा पर्ने सवारीसाधनमा पाँच जीप, चार माेटरसाइकल,दुई ट्याक्टर,एक ट्रक,एक अल्टाे,एक अटाे रिक्सा रहेका छन्। उक्त दुर्घटनामा परेर ११ जना घाइते भएका जिल्ला प्रहरी कार्यालय बैतडीका सूचना अधिकारी,प्रहरी निरीक्षक याेगेश खत्रीले जानकारी दिनुभयाे।
घाइतेमध्ये चार जनाकाे अवस्था मध्यम र सातकाे अवस्था सामान्य रहेकाे प्रहरीले जनाएको छ। अधिकांश सवारी दुर्घटना मुख्य सडकहरूमै भएका जनाइएको छ।
सवारी दुर्घटनामा हुनुको मुख्य कारण चालकको लापरवाही हुने गरेको जिल्ला ट्राफिक प्रहरी कार्यालयले जनाएको छ। चालकको लापरवाही, साँघुरा सडक र क्षमताभन्दा बढी यात्रुले गर्दा सवारी दुर्घटना हुने गरेको हाे।
चाडपर्वको बेला हुने सवारी दुर्घटना हुँदा चाडपर्व खल्लो हुने गरेको छ।
यसैबीच दशैँको अवधिमा बैतडीमा ट्राफिक प्रहरीले १६७ सवारी साधन माथि कारबाही गरेको छ । ट्राफिक नियम उल्लंघन गर्ने सवारी साधनलाई कारबाही गरेर ८८ हजार राजस्व समेत संकलन गरिएको जनाएको छ ।
सवारीसाधन चलाउँदा सवारी चालक अनुमति पत्र (लाइसेन्स) नभएका, मादकपर्दाथ सेवन गरेका, क्षमता भन्दा धेरै यात्रु बोक्ने सवारी साधनलाई कारबाही गरिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय बैतडीले जनाएको छ ।
बैतडीमा यसपालिको दशैँ शान्तिपूर्ण भएको छ । केही छिटपुट घटना भए पनि ठूला आपराधिक घटना, चोरी डकैती तथा दुर्घटना नभएका प्रहरीले जनाएको छ।