बाजुरा, बाजुराका भूकम्प पीडितको दसैं यसपाली त्रिपालमा बित्ने भएको छ । बाजुराको खप्तड छेडेदह गाउँपालिकाका भूकम्प पीडितहरूको परिवारमा विगत वर्ष जस्तो यस वषको दसैंमा खुशियाली छैन ।
भूकम्प पीडित सुन्दरा रावतले भनिन्, ‘यस वर्ष भूकम्पका कारण हाम्रो लागि दसैं दसाको रूपमा सावित भएको छ । सबैको घर, घरमा चाडबाडको खुशियाली छाएपनि आफुहरूको घरमा भने के खाने ? कहाँ बस्ने भन्ने चिन्ता छ ।’
बझाङको तलकोट केन्द्र विन्दु बनाएर गएको भूकम्पले गर्दा खप्तड छेडेदह गाउँपालिकामा ९ सय ९० घर पूर्णरुपमा क्षति भएको प्रमुख जिल्ला अधिकारी भिमकान्त पौडेलले बताए । असोज १६ गते यता पटकपटक गएको भूकम्पले सबै भन्दा बढी नोक्सान खप्तड छेडेदह गाउँपालिकामा गरेको उनको भनाइ छ ।
खप्तड छेडेदह गाउँपालिकामा भूकम्पका कारण १२ हजारभन्दा बढी मानिस प्रभावित भएका छन् । जसमध्ये ६ हजार बालबालिका, पाँच सयभन्दा बढी गर्भवती महिला, दुई सयभन्दा बढी वृद्धवृद्धा, एक सयभन्दा बढी अपांगता र चार हजार विद्यार्थी विस्थापित रहेको गाउँपालिका अध्यक्ष रावतले बताए । रेडक्रस सोसाइटी, युनिसेफ र युएनएपिएले पीडितहरूका लागि त्रिपाल, कम्बल र केही भाँडाकुँडा वितरण गरेका छन् ।