शैलुङः दशै गन्तव्य

गौरीशङ्कर हिमश्रृङखलालाई कोल्टे पार्दै क्षतिजबाट उज्यालिएको मौसमले दशैंको सङ्केत गर्दैछ । पसिनाले निथ्रुक्क मेरो शरिर विश्रामको गन्तव्य पहिल्याउने धपेडीमा शैलुङ थुम्काको घनघस्या नाप्दै छ ।

म विगतमा हराउदै, अगाडि बढ्दैछु । थुम्काको टुप्पोबाट चरिकोटका घरहरु देखिएका छन् । र, म त्यही घरहरुमध्ये दशैंको कपडा सिलाउने मेरा मामाहरु (नेपाली) को घर पहिल्याउँदै छु ।

उबेला बालापनमा दशैंको सङ्केतसंगै नयाँ लुगा जोहो गर्न उनै मामाहरुको घर धाउनुपर्थ्यो । उमेर परिपक्क भएसँगै दशैंको शैलीमा पनि फेरबदल आएको छ । अब हामी कतै घुम्न जाने लालसामा आफुलाई तयारी गर्छौं । दोलखाको दशैं गन्तव्य कालिञ्चोक, भीमेश्वर, च्छो-रोल्पा हिमताल, लप्ची, जिरी, शैलुङहरु मध्यबाटै रोज्ने गर्छौं । र, यसपटक शैलुङ रोजेका छौं ।

……………………………….? पछिल्लो एक बर्षमा यो तेस्रो भ्रमण हो मेरो, शैलुङको । २०८० असोज १३ गते विहान शैलुङको सबैभन्दा अग्लो तीन हजार एक सय ४८ मिटर अग्लो थुम्का टेक्दा मनमा एकप्रकारको उत्साह र उर्जा प्राप्त भएको छ ।

फुसफुसाउँदो झरीसँग बादलुको चेपचापबाट चिहाउदै गरेको सूर्योदयले थुम्काहरुको दुबोमा सप्तरङ्गी किरण हुत्याईरहेको थियो । हरियो दुबोमा सप्तरङ्गी किरणसँग टल्कीरहेको पानीका थोपाहरु हाम्रा पदचापले चलमलाई रहेका थिए । ८० टेक्दै गरेको एकजना जर्मनी आमा खुशीले थपडी मार्दै हुनुहुन्थ्यो ।

‘आहा कति अलौकिक दृश्य !’ म बेस्सरी चिच्याए– ‘हामी नेपालीको गौरव, हाम्रो नेपाल, हाम्रो शैलुङ ।’

आसपासका छिमेकी र लस्करमा थुम्काहरु उक्लदै गरेका जर्मनी पर्यटक मलाई हेरेर मुस्कुराउन थाले । म लाजले रातोपिरो भएँ । तर मनको अन्तरकुन्तरबाट स्वर्गको प्रकृति विचरणको स्फूर्ती प्रवाहित भइरहेको थियो ।

त्यसो त जर्मनी पर्यटकहरु पनि निक्कै फुर्तिला लागिरहेका छन् । सबैजसो ७० नाघेका अधवैशे तर फुर्ती हेर्दा भर्खर २०-२५ का नौजवान ! एकजना अधवैशे जर्मनी महिलालाई मैले ठट्टा गर्दै भनें– ‘तिमी जोशिलो युवती जस्तै छौं ।’ उनले जवाफ फर्काइन्,  ‘मेरो शरीर र स्वास्थ्यले त्यसो भन्दैन, म बुढ्यौलीतिर लम्कदै छु । तर यो चाहीँ सत्य हो कि तिमीले भनेजस्तो मेरो मस्तिष्क चाहीँ भर्खर २०-२५ को नौजवान जस्तै बनेको छ, शैलुङको सुन्दरतामा हराउँदा ।’

एकै ठाँउमा पहाडका एक सय वटा थुम्का ! सुन्दा आश्चर्य लाग्छ । तर यो सत्य दोलखा र रामेछापको सिमानामा पर्ने शैलुङमा देख्न सकिन्छ । जहाँ साना– ठूला एक सय वटा थुम्काले हार्दिकता साथ पर्यटकलाई हरेक मौसममा स्वागत गरिरहेको हुन्छ ।

तमाङ भाषामा नामाकरण भएको शैलुङले एक सयवटा थुम्कातिरै सङ्केत गर्दछ । तमाङ भाषामा शै को अर्थ सय र लुङको अर्थ थुम्का हो भन्छन् स्थानीय तमाङ समुदायका मानिसहरु ।

चरिकोटबाट तीन घण्टाको यात्रा (सवारी साधनमार्फत) मा पुगिने शैलुङमा म जतिपटक पुगं, फरक स्वरुप र मौसममा शैलुङलाई पाएको छु । बर्षा याममा हरियाली र चौरी तथा भेडा गोठको अकर्षणले पर्यटकलाई मोहित गर्छ । पुस– माघको जाडोमा हिउँले छपक्कै छोपेका थुम्काहरुको दन्त लहरले पर्यटक लठ्ठै पर्छन् ।

छिनछिनमा बदलिने मौसमसँग गौरीशङ्कर हिमश्रङ्खलाको लुकामारी पर्यटकको खुशी साट्ने बहाना भइदिन्छ । विभिन्न आकार जोड्दै र छोड्दै अघि बढ्ने बादलका टुक्राहरु छिनमा थुम्कालाई फेरो मार्दै विश्राम लिएझै गर्छन् त छिनमा आकाश माथि- माथि कता हो कता हराइदिन्छ ।

हरेक बाह्र बर्षमा गोदावरी फुल्छ शैलुङमा । महादेव (शिवजी) को प्रतिमूर्तिमा शीर निहुराएर मागेका बर खेर जादैन भन्छन् स्थानीय । महादेव मन्दिरसंगै रहेको धर्म ढोकामा धेरैले आफ्नो कर्मको मूल्याङ्कन गरिरहेका हुन्छन् । भनिन्छ, ‘धर्मात्माहरुले सजिलै धर्मढोका पार गर्नसक्छन् तर पापीले त्यो शौभाग्य पाउन सक्दैनन् ।’

शैलुङसँग सम्बन्धित केही किंवदन्तिहरु प्नि छन् । महयान सम्प्रदायका लामा बौद्ध धर्मको उपसम्प्रदाय निङ्मायाको किम्बदन्ति सुनाए स्थानीय जेष्ठजनहरुले– गुरु पद्यसम्भवले नेपालको उच्च तथा हिमाली श्रृङ्खलाका साथै तिब्बतका बोत (झाँक्री) धर्म गुरुहरुलाई परास्त गरी बौद्ध धर्मको स्थापना गरेका थिए । यो क्रममा धर्मचक्र राजाकी छोरीसंग विवाह गरी बस्दा स्वदेशका जजमानहरुको संस्कार, साधनहरु समेत तान्त्रिक शक्तिद्वारा आकाश मार्गबाट पठाउदा मानेश्वर ल्हो (माने) शैलुङ बसेका थिए ।

त्यसैले यो पवित्र र धार्मिक मित्र भूमि पनि । एकातिर १२ बर्षमा फुल्ने गोदावरी, महादेव मन्दिर र धर्मढोकाको हिन्दु महिमा र अर्कोतर्फ पद्यसम्भवसंग जोडिएको बौद्ध मान्यता । हिन्दु र बौद्ध धर्मको संगम थलो शैलुङ ।

शैलुङको प्रत्येक थुम्का सत्य युगिन समयमा ऋषीहरुको तपस्या भूमि रहेको किंबदन्ति समेत छ । र, एकथरीले शैलुङका हरेक थुम्कामा फलाम, तामा लगायतका खानी रहेको विश्वास पनि गर्दछन् ।

दोलखाको कालापानीबाट पुगौं या रामेछापको खोलाखर्कबाट जब शैलुङको थुम्काहरु टेक्न थाल्छांै मनको भाव त्यसै त्यसै हिउँका कोमल झट्टी बनेर कता– कता प्रहार गरिरहेको हुन्छ । मन चिमोटिन्छ, दुखाई पीडादायी हैन आत्मिय लाग्दछ । यहि त विशेषता छ शैलुङको, गौरीशङ्कर हिमश्रृङ्खलाको आडमा दोलखा सदरमुकाम चरिकोट नियाली रहँदा क्षणमै बादलुले अलप बनाउँछ घरहरु । फेरी कता– कताबाट तीनै घरहरुको छत र बार्दली टल्कन थाल्छन् सूर्योदयको स्फटीक तरङ्गहरुमा ।

शैलुङको सुन्दरतामा निखार ल्याउन दोलखा र रामेछापका धेरै अगुवाहरुले प्रयत्न गरेका छन् । शैलुङका समाजसेवी शोभित उप्रेती, पूर्व पालिका प्रमुख भरत दुलाल, वडा नम्बर– ८ का पूर्व वडा अध्यक्ष रामेश्वर उप्रेती, शैलुङ गाँउपालिकाका प्रमुख रिमालवावु श्रेष्ठ, उपप्रमुख पार्वती थापा, वडा नम्बर– ८ शैलुङका वडा अध्यक्ष धनबहादुर तमाङ, युवा समाजसेवी नवराज खड्का (राजाभाइ), रामेछापका जनप्रतिनिधि लगायत धेरैले सार्थक प्रयास गरेका छन् ।

विगतमा शैलुङ भ्रमणको क्रममा खाना र बासको समस्या हुने गर्दथ्यो । अहिले दोलखाको कालापानी र रामेछापको खोलाखर्कमा प्रयाप्त होटल सञ्चालनमा छन् । हिमपातको सिजनमा चिसोका कारण कालापानी र खोलाखर्कमा बस्न असहज भयो भने समाजसेवी शोभित उप्रेतीले आफ्नो घर शैलुङ– ८ पहरीखर्कमा सुरु गरेको रिर्सोटमा बस्न सकिने भएको छ । शोभित दाइसँग काठमाडौँमा भेट भएको बेला भन्दै थिए, ‘हिमपातको सिजनमा शैलुङको थुम्का क्षेत्रमा बस्न कठिनाई हुनसक्छ र पर्यटकलाई शैलुङको अन्य ठाँउहरु घुम्ने चाहपनि हुनसक्छ त्यसैले मैले मेरो जन्म घरमा सुविधासम्पन्न रिर्सोट सुरु गरेको छु ।’

आफ्नो जन्मघरमा सुरु भएको रिर्सोटमा दुरविन समेत जडान गर्ने र त्यहीँबाट गौरीशङ्कर हिमश्रृङ्खला नियाल्ने सुविधा समेत दिने शोभित दाइको योजना छ । अहिले त्यहाँ सुविधासम्पन्न चारवटा कोठा सहितको भवन, सिसि क्यामेरा लगायत राखिएको रहेछ ।

शैलुङ भ्रमणमा एउटा सामान्य समस्या चाहि अहिले पनि देखियो । बर्षायाममा सडकको झमेला । हुन त मूडे-मेलुङ सडक द्रुत गतिमा निर्माण भै रहेको छ । यसले शैलुङ आगमन सहज गर्छ तर यो कामलाई तीनै तहको सरकारको विशेष पहलमा चाँडै सम्पन्न गर्नुपर्यो ।

पर्यटनको मुख्य केन्द्र र आलु, बन्दा, काउली जस्ता तरकारीको उर्वर क्षेत्रमा सडकको झमेला उचित लाग्दैन । दोलखाको चरिकोट, सिन्धुपाल्चोकको मूडे र रामेछापको सितलीबाट शैलुङ जोड्ने सडक पक्की बन्ने हो भने हरेक सिजनमा शैलुङ पुग्ने पर्यटकको भीड लाग्ने छ ।

शैलुङको थुम्का उक्लने ठाँउमा गाँउपालिकाको सहयोगमा मिनि ग्रटवाल बन्दै छ, फुस्रामाटामा विज्ञान पार्क बन्दै छ अनि फस्कुमा बुद्धिष्ट ध्यान केन्द्र बन्दै छ । यसले पनि शैलुङ घुम्न आउने पर्यटकलाई दुई-तीन दिन रमाउन सहज बनाउने छ । र, त्यो भन्दा महत्वपूर्ण कुरा एक सयवटा थुम्काहरुमा विचरण गर्दै प्रकृति नियाल्ने सुखद अवसर शैलुङले मात्र जुराउने छ

म क्याप्टेन विजय लामालाई सम्झदै छु । असोजको दोस्रो हप्ता स्पार्क कारले शैलुङको थुम्कामा आयोजना गरेको स्र्पाक एड्भेञ्चर– २०२३ मा रमाउन पुगेका विजय लामा भन्दै थिए– आकाशबाट धेरै पटक नियालेको छु शैलुङका थुम्काहरु । एकपटक आउँछु-आउँछु भनेको थिए र आए पनि ।अनलाईन खबरबाट साभार

 

ताजा समाचार