धनगढी, सुदूरपश्चिममा विभिन्न अपराध गरेर फरार भएकाहरु धमाधम पक्राउ पर्न थालेका छन्। आर्थिक वर्ष २०७९/८० मा मात्र तीन सय ९८ फरार दोषीलाई पक्राउ गरेर दुई सय १५ वर्ष चार महिना २४ दिनको जेल सजाय तोकिएको छ। विभिन्न अपराध गरेर लुकेर बसेका ती दोषीहरु प्रहरीले पक्राउ गरेको हो। साथै ती फरार दोषीबाट ९५ लाख ३५ हजार ६ सय ४९ रुपैयाँ जरिबाना समेत अदालतले भराएको हो।
यस्तै प्रकृतिका अपराध गरेर फरार भएका दुई सय ९६ दोषीलाई आर्थिक वर्ष २०७७/७८ मा पक्राउ गरिएको छ। अदालतबाट सजाय पाएका तर फरार रहेका थप दुई सय ३१ अपराधिलाई आर्थिक वर्ष २०७८/७९ मा प्रहरीले पक्राउ गरेर अदालतमा पेस गरेको छ। त्यस्तै चालु आर्थिक वर्षको तीन महिनाको अवधिमा थप ३६ दोषीलाई प्रहरीले पक्राउ गरेको तथ्यांक छ।
प्रदेशभित्र जघन्य अपराध गरेर फरार भएकाहरुको संख्या ठूलो छ। दोषीहरुलाई पक्राउ गर्न प्रहरीले विशेष रुपमा पहल गर्दै आएको दाबी छ। पछिल्लो समय प्रहरीले लागुऔषध नियन्त्रण र फरार प्रतिवादी पक्राउ गर्नमा बढी जोड दिएको छ। अहिले पनि विभिन्न अपराध गरेर फरार भएकाहरुको संख्या ठूलो भएकाले खोजीकार्य भइरहेको प्रदेश प्रहरी कार्यालयले जनाएको छ। ढिलो चाँडो यस्ता अपराधीहरुलाई कानुनी दायरमा ल्याएरै छाड्ने गरी प्रहरीले आफ्नो भूमिका प्रभावकारी बनाएको छ।