धनगढी, तेह्रौं शताब्दीमा सुर्य वंशका सोम देव नाम गरेका एउटा धर्म परायण र कुशल प्रशासक राजा थिए। सोम देव राजाका भरत देव र तुंग देव नाम गरेका दुई पुत्र थिए। कालान्तरमा राजा भरत देवका छोरा ब्रह्मदेव भए र यिनी पनि बाबु जस्तै धार्मिक एवं बहादुर थिए।
राजा ब्रह्मदेवले आफ्नो राज्य विस्तार गर्ने सिलसिलामा वर्तमान डडेलधुरा जिल्लाको महाभारत पर्वतको पश्चिम दक्षिणमा पर्ने थपला र चौडको खोलामा शीर्ष गाउँमाथि आफ्नो महल र किल्ला आफु सुरक्षित र संरक्षित रहने दृष्टिकोणले यस्तो विकट र गोप्य ठाउँमा निर्माण गरेका थिए र महलको नाम चैकोट (जैकोट) राखे। उक्त महल अहिले खण्डहरको रुपमा रहेको छ।
किंबदन्ती अनुसार श्रावण शुक्ल पूर्णिमाका दिन मध्यरात्री बितिसकेपछि राजा ब्रह्मदेवले सपनामा एउटा तेजस्वी र उत्तम वस्त्र आभूषणले सु–सज्जित एवं मस्तकमा अर्धचन्द्राकार मुकुट धारण गरेकी बालिका तथा एक हृष्टपुष्ट र भस्म पिताम्बर धारण गरेको बालक जसको मस्तकमा अर्धचन्द्राकार मुकुट छ यी दुइटै बालक–बालिका राजाको दृष्टिपटलको सामुन्ने आएर उभिएको देखे।
राजाले रुँदै बालक र बालिकाको चरण स्पर्श गर्न खोज्दा बालकले भने, ‘हे राजन ब्रह्मदेव! यी बालिका जगज्जननी पूर्णागिरी भगवती हुन म चन्द्रेश्वर महादेव (सिद्धनाथबाबा) हुँ। तिम्रो भक्ति दर्शनबाट प्रभावित भई दर्शन दिएका हौं र तिम्रा दुईटै महारानीबाट दुईवटा पुत्र हुनेछन्। महाकाली (शारदा) नदी माथि उत्तरतिर पूर्णागिरी पर्वतमा यी भगवती माता बस्नुहुन्छ र पूर्णागिरी भगवतीको सामुन्ने महाकाली नदी माथि महेन्द्र पर्वत (चुरे कौवानी) त्रिशुल भन्ने स्थानमा म महादेव (सिद्धनाथबाबा) बस्छु।
तिमीले एक वर्षसम्म प्रत्येक पौर्णमासीमा पूर्णागिरी भगवतीको र मेरो खाली खुट्टाले यात्रा गरेर ब्रत बसी पूजा र दर्शन गर्नुपर्नेछ।’ उक्त बाचा गराई बालक–बालिका अन्र्तध्यान भए। राजा ब्रह्मदेवले वर्ष पर्यन्त प्रत्येक पौर्णमासीमा माता र बाबाको दर्शन, उपासना र पूजा गरेपछि राजाकी दुबै महारानीबाट दुईवटा पुत्र भए। राजा ब्रह्मदेवले वर्तमान ब्रह्मदेव भन्दा १–२ किलोमिटर टाढा खल्ला र ब्रह्मदेवको बिचमा बजार (मण्डी) स्थापना गरेका थिए।
केही समयपछि त्यस ठाउँमा प्राकृतिक विपद परी बजारलाई अन्यत्र सार्नुपर्ने अवस्था आईप¥यो। त्यसै समयमा स्वप्नमा राजालाई पूर्णागिरी भगवती माता र सिद्धबाबाले पुरानो बजार भन्दा अलि तल महाकालीको किनारमा सुन्दर र विशाल पिपलको वृक्ष छ र त्यो पिपलको तल सुन्दर चौतारी बनाएर हामीले भने बमोजिमको ठाउँमा हामीलाई स्थापना गरी त्यही स्थानमा बजार (मण्डी) बसाउन आदेश दिए। साथै, पूर्णागिरी माताजीको दर्शन गरेपछि आफ्नो पनि दर्शन गरे मात्र मनोकांक्षा पूर्ण हुने पनि बताए।
सोही बमोजिम राजा ब्रह्मदेवले श्रावण शुक्लपौर्णमासीका दिन सिद्धनाथबाबालाई स्थापना गरी पूर्णागिरी माताको दर्शन गरेपछि सिद्धनाथबाबाको पनि दर्शन गर्ने चलनको शुरुवात गरे। यो स्थान राजा ब्रह्मदेवको नामबाट ब्रह्मदेव मण्डी भनेर प्रख्यात भयो। धार्मिक परम्परा अनुसार पूर्णागिरी माताको दर्शन गरेपछि सिद्धनाथबाबाको दर्शन अनिवार्य मानिएको छ। सिद्धबाबा मन्दिरमा फागुन होली पूर्णिमादेखि असार पूर्णिमासम्म विधिवत्धार्मिक उत्तरायणी मेला चलिरहन्छ।
चन्द्रेश्वर महादेव (सिद्धबाबा) को स्थान माता पूर्णागिरीका सामुन्ने दक्षिण दिशामा रहेको छ। माता पूर्णागिरी र सिद्धबाबाको पुण्यस्थलमा करीब ३ देखि ४ किलोमिटरको महाकाली नदी मौनब्रत धारण गरेर शान्त धारामा बाह्रै महिना अविराम बगिरहेकी छिन्। यो ठूलो नदी, माता र बाबाको क्षेत्रमा बाधा नपु¥याई शान्त बगिरहनु पनि ठूलो चमत्कारको रुपमा लिने गरिएको छ। शिव र शक्तिको यस्तो अनुपम संयोग र मनोहर दृश्य सर्वत्र देख्न पाइँदैन।
पूर्णागिरी माताको स्थानमा भक्तजनहरुले बजाइराखेको शंख–ण्टीहरुको ध्वनी सिद्धबाबाको स्थान नजिकै स्पष्ट सुनिन्छ। सिद्धबाबा मन्दिरको स्थापना प्राचीन समयमा भएता पनि वि.सं. १८७० सालतिर नेपालमा राणा शासकहरुद्धारा भारत–नेपालका सीमावर्ती क्षेत्रहरुमा बजार अड्डा (भन्सार कार्यालय) खोल्ने सिलसिलामा ब्रह्मदेव मण्डीमा पनि भन्सार कार्यालय खोलिएको र उक्त अड्डाका कर्मचारी तथा व्यापारीहरुले ब्रह्मदेव मण्डीस्थित सिद्धनाथबाबाको पूजाका लागि डडेलधुरा हाटगाउँ बस्ने स्वर्गीय शिवदत्त उप्रेतीलाई पूजारीको रुपमा नियुक्त गरेको जानकारी श्री सिद्धनाथ मन्दिर संरक्षण समिति, ब्रह्मदेवबाट प्रकाशित पुस्तकमा उल्लेखित छ। वि.सं. २०४८ सालमा श्री सिद्धनाथ मन्दिर संरक्षण समिति, ब्रह्मदेवको विधिवत स्थापना भई मन्दिरको संरक्षण र सम्वद्र्धनको काम गरिरहेको छ।