युवासंघ कञ्चनपुरले साउन २६ गतेभित्र जिल्ला अधिवेशन गरिसक्ने, ६ हजार सदस्य बनाउने लक्ष्य

महेन्द्रनगर । राष्ट्रिय युवा संघ नेपाल कञ्चनपुर जिल्ला अधिवेशन आयोजक कमिटीको दोस्रो पूर्ण बैठकले यसै साउन २६ गतेभित्र जिल्ला अधिवेशन गरिसक्ने भएको छ ।

आयोजक कमिटी संयोजक दिनेश विष्टको अध्यक्षतामा भएको बैठकमा प्रमुख अतिथि रहेका युवासंघका केन्द्रीय उपाध्यक्ष महाराज गुरुङले साउन २६ गतेभित्र जिल्ला अधिवेशन गरिसक्न निर्देशन दिएका छन् ।

साउन १७ गतेभित्र कञ्चनपुरका सबै पालिकामा अधिवेशन, कमिटी गठन, पुनर्गठनको काम गरिसक्नुपर्नेछ । युवासंघले कञ्चनपुरमा ६ हजार सदस्यता वितरण गर्ने लक्ष्य लिएको आयोजक कमिटी कार्यालय सदस्य वीरेन्द्रबहादुर महराले जानकारी दिए ।

बैठकमा नेकपा एमालेका पोलिटब्युरो सदस्य तथा जिल्ला इन्चार्ज नारदमुनि राना विशिष्ट अतिथि थिए । बैठकलाई सम्बोधन गर्दै उनले संगठन विस्तार गर्न निर्देशन दिए ।

बैठकमा केन्द्रीय कमिटी सदस्य नरबहादुर धामी, केन्द्रीय लेखा आयोग सदस्य ईश्वरीप्रसाद खरेल, जिल्लाका कार्यबाहक अध्यक्ष लक्ष्मी बुढा, जिल्ला उपचिव कर्णबहादुर चन्द, युवा फाँट इन्चार्ज ओम बस्नेत, युवासंघका सुदूरपश्चिम प्रदेश संयोजक भरत मल्ल लगायतको उपस्थिति थियो ।

एमालेले पार्टी र जनसंगठनलाई सुदृढ र विस्तार गर्ने अभियानअन्तर्गत युवासंघलाई सक्रिय बनाइएको जनाइएको छ ।

 

ताजा समाचार