कञ्चनपुरका ४ पालिकामा एमालेका बैठक सम्पन्न, वडामा योजना बनाउँदै घरदैलोमा पुग्ने रणनीति

महेन्द्रनगर । नेकपा एमालेले कञ्चनपुरको १ नम्बर निर्वाचन क्षेत्रका ४ पालिकामा पार्टीका बैठक गरिसकेको छ ।

सोमबार बेलडाँडी गाउँपालिकामा गाउँ कमिटीको पूर्ण बैठक बसेसँगै १ नम्बर क्षेत्रका सबै पालिकामा पार्टी बैठक बसिसकेका हुन् ।

यसअघि आईतबार बेलौरीमा नगर कमिटी सचिवालय बैठक, शनिबार लालझाडी गाउँ कमिटी बैठक र शुक्रबार पुनर्वास नगर कमिटी बैठक बसेका थिए ।

सोमबार बसेको बेलडाँडी गाउँ कमिटीको बैठकले वडास्तरका योजना बनाउने जनताको घरदैलोसम्म पुग्ने निर्णय गरेको छ । बैठकले स्थानीय सरकारका बेथितिविरुद्ध सशक्त प्रतिपक्षीको भूमिका निभाउने र जनसरोकारका विषय उठाउने निर्णय गरेको नेकपा एमाले कञ्चनपुरका सचिव पल्लबराज भट्टले जानकारी दिए ।

गाउँ कमिटी अध्यक्ष लक्ष्मण भाटको अध्यक्षतामा बसेको बैठकमा पार्टी पोलिटब्युरो सदस्य तथा जिल्ला इन्चार्ज नारदमुनि राना, केन्द्रीय कमिटी सदस्य तथा पालिका इन्चार्ज इन्दु कडरिया, प्रतिनिधिसभा सदस्य तारालामा तामाङ, प्रदेश कमिटी नेताहरू, कार्यबाहक जिल्ला अध्यक्ष लक्ष्मी बुढा, जिल्ला सचिव पल्लबराज भट्ट, उपसचिव फैरु तामाङ, जिल्ला कमिटी सदस्य तथा पालिका इन्चार्ज दिलबहादुर सुनार लगायतको उपस्थिति थियो ।

नेकपा एमालेले सञ्चालन गरेको मिसन ग्रासरुट अभियानको सिकाइपछि केन्द्रीय कमिटी बैठकले सदस्यता विस्तार र संगठन सुदृढीकरण अभियान सञ्चालन गर्ने निर्णय गरेको थियो । अभियानअन्तर्गत २०८० साललाई अधिवेशन वर्षका रूपमा प्रदेश कमिटीदेखि टोल कमिटीसम्म अधिवेशन गरिने भएको छ । अधिवेशनसँगै एमालेले ‘मिसन २०८४’ निर्वाचनको तयारी गरिरहेको छ ।

 

ताजा समाचार